
“अखिल नेपाल महिला संघद्वारा तीज विशेष कार्यक्रम सम्पन्न”।


काठमाडौं । नेकपा (माओवादी केन्द्र) अखिल नेपाल महिला संघ नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा तीज विशेष सांस्कृतिक तथा राजनीतिक कार्यक्रम सम्पन्न भएको छ । समितिकी अध्यक्ष शोभा अधिकारी (दुर्गा)को अध्यक्षतामा भएको कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीमगर प्रमुख आतिथ्य रहनु भएको थियो ।
कार्यक्रममा पार्टी स्थायी समिति सदस्य तथा पूर्वमन्त्री सत्य पहाडी, प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री हितबहादुर तामाङ, प्रतिनिधि सभा सदस्य तथा कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी, राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी (विवेक), संविधान सभा सदस्य एवं अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सचिव कमला दोङ, संविधान सभा सदस्य तथा गायिका केशरी घर्तीमगरलगायतको विशेष उपस्थिति रहेको थियो ।
त्यसैगरी, पार्टीका विभिन्न तहका नेताहरू, प्रदेश तथा जिल्ला तहका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष रामहरि गजुरेल, प्रेस सेन्टर बाग्मति प्रदेश उपाध्यक्ष राजन अधिकारीलगायतको पनि उपस्थिति थियो ।
कार्यक्रममा पूर्व संयोजक सर्मिला ढुङ्गानाले स्वागत मन्तव्य राख्नु भएको थियो भने विशेष अतिथिहरू हितबहादुर तामाङ, सत्य पहाडी र प्रमुख अतिथि ओनसरी घर्तीमगरले तीजको सन्दर्भलाई प्रगतिशील बनाउँदै महिलाको सशक्त सहभागिता बढाउने विषयमा जोड दिनु भएको थियो ।
सम्पर्क समितिका अध्यक्ष प्रकाश रैलाले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा महिला दिदीबहिनीप्रति धन्यवाद ज्ञापन गर्दै, खस्कँदो महिलाको सहभागिता बढाउन संगठनले योजनाबद्धरूपमा अघि बढिरहेको बताउनुभयो । उहाँले भड्किला तीज कार्यक्रमलाई प्रोत्साहन नगरी प्रगतिशील तीज कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।