
इडिफाइ स्कुलमा माइक्रोभ्यान दुर्घटना : ९ वर्षीया छात्राको मृत्यु, ७ जना घाइते।


इडिफाइ स्कुलमा माइक्रोभ्यान दुर्घटना : ९ वर्षीया छात्राको मृत्यु, ७ जना घाइते
काठमाडौं, असार २ – राजधानीको कलंकीस्थित इडिफाइ इन्टरनेसनल स्कुलमा सोमबार दिउँसो भएको एक भयानक दुर्घटनामा ९ वर्षीया छात्राको ज्यान गएको छ भने अन्य सात जना घाइते भएका छन्। दुर्घटना स्कुल कम्पाउन्डभित्रै भएको हो।
दिउँसो करिब १२:५० बजे स्कुलको विद्युतीय माइक्रो भ्यान अनियन्त्रित भई विद्यालयको गेटको पिलरमा ठोक्किएको थियो। प्रहरीका अनुसार उक्त दुर्घटनामा सर्लाही स्थायी घर भई हाल कुलेश्वरमा बस्ने ९ वर्षीया सोनाक्षी यादव गम्भीर घाइते भइन्। उनलाई उपचारका लागि सहिद गंगालाल मेमोरियल अस्पताल पुर्याइए पनि दिउँसो १:३६ बजे मृत घोषित गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
- दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। तीमध्ये पाँच जना स्कुले बालबालिका, एक जना प्रधानाध्यापक र एक जना भ्यान चालक रहेका छन्। घाइते बालबालिकामा सर्लाहीकी ८ वर्षीया रेश्मा मोक्तान, रामेछापकी ९ वर्षीया नेशिया थापा (हाल स्वयम्भु), कीर्तिपुरकी ९ वर्षीया निकिशा डंगोल, मकवानपुरकी ११ वर्षीया सिमरन खड्का (हाल कलंकी) र गुल्मीकी ९ वर्षीया प्रेमिसा घर्ती मगर (हाल कलंकी) रहेका छन्।