
“एडिफाई स्कुल दुर्घटनाले देश स्तब्ध, नेकपा (बहुमत) सम्बद्ध अखिल (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण”


“एडिफाई स्कुल दुर्घटनाले देश स्तब्ध, नेकपा (बहुमत) सम्बद्ध अखिल (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण”
काठमाडौँ, असार २ –
काठमाडौँको कलंकीस्थित एडिफाई इन्टरनेसनल स्कुलमा सोमबार दिउँसो भएको दुःखद दुर्घटनामा परी कक्षा ४ मा अध्ययनरत ९ वर्षीया छात्रा सोनिक्षा यादवको ज्यान गएको छ। सोही घटनामा विद्यालयका प्रिन्सिपल सुरज पोख्रेल, सवारी चालक र अन्य पाँच जना विद्यार्थी घाइते भएका छन्।
विद्यार्थी ओसारपसारका लागि प्रयोग भएको विद्युतीय माइक्रोभ्यान अनियन्त्रित भई स्कुलको गेटको पिलरमा ठोक्किएको थियो। उक्त दुर्घटना स्कुल परिसरभित्रै भएको पुष्टि गरिएको छ।
यस घटनाप्रति अखिल (क्रान्तिकारी) ले एक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ। नेकपा (बहुमत) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला अध्यक्ष हस्त बि.क. द्वारा जारी विज्ञप्तिमा मृतक छात्रा प्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विज्ञप्तिमा निजी विद्यालयहरूबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण विद्यार्थीको सुरक्षालाई बेवास्ता गरिएको गुनासो गरिएको छ। विद्यालयले नियमित मर्मत नगरेका, थोत्रा सवारी साधन सञ्चालनमा ल्याएको भन्दै यस्ता लापरवाही रोक्न सम्बन्धित निकायहरूलाई कडाइका साथ निगरानी गर्न आग्रह गरिएको छ।
अध्यक्ष हस्त बि.क.का अनुसार,
“यो दुर्घटना कुनै संयोग मात्र होइन, यो शिक्षा क्षेत्रको गम्भीर उदासीनता र अनियमितताको परिणाम हो। विद्यार्थीको जीवनसँग खेलबाड गर्ने विद्यालयहरूलाई अब जवाफदेही बनाइनु पर्छ।”
संगठनले सम्बन्धित निकायहरूलाई दोषीमाथि कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन र शिक्षालयभित्रको सम्पूर्ण सुरक्षात्मक पूर्वाधार पुनरावलोकन गर्न माग गरेको छ।