एमालेमा झोले अभिव्यक्ति: नेतादेखि कार्यकर्तासम्मको ‘गर्व’ अभियान।

0
17

एमालेमा झोले अभिव्यक्ति: नेतादेखि कार्यकर्तासम्मको ‘गर्व’ अभियान

काठमाडौं, जेठ १९ — नेकपा (एमाले)को नेतृत्व तहदेखि सामान्य कार्यकर्ता तहसम्म “म झोले हुँ” भन्ने अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा एउटा नयाँ अभियानका रूपमा फैलिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले “झोले” शब्दलाई आत्मगौरवको रुपमा प्रस्तुत गरेपछि नेता तथा कार्यकर्ताहरूले खुलेर यो पहिचान अँगाल्न थालेका छन्।

टोखामा सम्पन्न नेपाल बुद्धिजीवी परिषद्को ११औं महाधिवेशनमा प्रधानमन्त्री ओलीले “म परिवर्तनको झण्डा उठाउने झोले हुँ” भन्दै यस शब्दलाई सकारात्मक व्याख्या गरे। उनले झोला बोक्ने सिपाहीका रूपमा जनताको पक्षमा काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।

ओलीको अभिव्यक्तिपछि उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत अन्य शीर्ष नेताहरूले पनि सामाजिक सञ्जालमा आफूलाई झोले घोषणासहित स्टाटस राखेका छन्। यसले “झोले” शब्दलाई पार्टीभित्र एउटा सम्मानजनक पहिचान बनाउँदै लगेको देखिन्छ।

कार्यकर्ताहरूले समेत आफ्ना तस्बिरसहित “म झोले हुँ” भन्ने पोष्टरहरू सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन्। पोष्टरहरूमा विकास, परिवर्तन, निष्ठा, र जनताको सेवा गर्ने सन्देश जोडिएका छन्।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “सत्यको पक्षमा उभिन डराउनु हुँदैन। झोले भन्ने आलोचना त सधैँ आइरहन्छ, तर जनताको चाहनाको झोला बोक्नु हाम्रो दायित्व हो।”

राजनीतिक वृत्तमा यो अभियानलाई विभिन्न कोणबाट विश्लेषण गरिँदैछ। एकातिर आलोचकहरूले यसलाई ‘नेतृत्व पूजाको शैली’ भनेर खिसीट्युरी गरिरहेका छन् भने अर्कातिर समर्थकहरूका लागि यो ‘निष्ठा र योगदानको प्रतीक’ बन्दै गएको छ।

एमालेले यो अभियानलाई संस्थागत गर्ने तयारी गरिरहेको चर्चा पनि पार्टीभित्र चलिरहेको छ।

LEAVE A REPLY