कागेश्वरी मनोहरा नगरपालिकाले नीति, कार्यक्रम तथा बजेटमाथि सरोकारवालासँग छलफल सम्पन्न।

0
55

कागेश्वरी मनोहरा नगरपालिकाले नीति, कार्यक्रम तथा बजेटमाथि सरोकारवालासँग छलफल सम्पन्न

काठमाडौँ, असार ६
कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेटबारे सरोकारवाला निकायहरूसँग विस्तृत छलफल सम्पन्न गरेको छ। नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम नगर कार्यपालिका, वडा अध्यक्ष, सहकारी प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय संघसंस्थाको सहभागितामा सम्पन्न भएको हो।

कार्यक्रममा सहकारी क्षेत्रलाई उच्च प्राथमिकता दिने, “एक सहकारी, एक उद्यम” नीतिको प्रभावकारी कार्यान्वयन, जोखिम विश्लेषण, तथा सीप अभिवृद्धि र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमहरू प्राथमिकतामा राखिएको जनाइएको छ।

छलफलका प्रमुख अतिथि तथा नेफ्स्कून (राष्ट्रिय सहकारी महासंघ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संस्थाहरूमा देखिएका समस्या र चुनौतीहरूबारे स्पष्ट गर्दै, सहकारीमा संस्थागत सुशासन र आर्थिक अनुशासन आवश्यक रहेको बताए। उनले केही सञ्चालकहरू व्यक्तिगत स्वार्थमा लिप्त हुँदै सदस्यहरूको विश्वासमा आँच पुर्‍याएको बताउँदै सुधारको खाँचो औँल्याए।

नगर प्रमुख कार्कीले भने, “हामी सहकारीलाई मात्र वित्तीय संस्था होइन, स्थानीय विकासको मेरुदण्डको रूपमा लिन्छौँ।” उनले सहकारी क्षेत्रको अध्ययन, वर्गीकरण र क्षमताअनुसार प्रोत्साहन गरिने जानकारी दिँदै, स्थानीय उत्पादन र रोजगारीलाई बजेटमार्फत जोड्ने योजना अघि सारे।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले आफ्ना धारणा राख्दै कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा पनि समान ध्यान दिनुपर्ने सुझाव दिए। सहभागीहरूले बजेटमा पारदर्शिता, सहभागिता र परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्न जोड दिए।

नगरपालिकाले संकलित सुझावको विश्लेषणपछि विस्तृत नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ। छलफलले स्थानीय शासनमा सहभागिता अभिवृद्धि गर्दै बजेट निर्माण प्रक्रियालाई अझ समावेशी बनाउने विश्वास व्यक्त गरिएको छ।

 

LEAVE A REPLY