
काठमाडौंका बस स्टपमा मौलिक फल्चा निर्माण : सांस्कृतिक पुनर्जागरणको अभियान।


काठमाडौंका बस स्टपमा मौलिक फल्चा निर्माण : सांस्कृतिक पुनर्जागरणको अभियान
काठमाडौं, जेष्ठ २३ — काठमाडौं महानगरपालिकाले उपत्यकाको सांस्कृतिक पहिचान झल्काउने ऐतिहासिक ‘फल्चा’ (विश्रामस्थल) हरू पुनर्निर्माण र निर्माणको कामलाई तीव्रता दिएको छ। प्राचीन समयदेखि सामाजिक, सांस्कृतिक र आध्यात्मिक जीवनशैलीसँग गाँसिएका फल्चाहरू अब काठमाडौंका सार्वजनिक स्थान, विशेषगरी बस स्टपहरूमा पुनःस्थापित हुँदैछन्।
नेपालको मौलिक वास्तुकलामा आधारित फल्चाहरू विगत केही दशकमा शहरीकरणको नाममा विस्थापित हुँदै गएका थिए। तर, ती संरचनाहरू केवल ऐतिहासिक अवशेष होइनन्, उनीहरूले काठमाडौंको संस्कृति, सामुदायिक भावना र जीवनशैली झल्काउने माध्यमको रूपमा भूमिका खेलेका छन्।
महानगरले आर्थिक वर्ष २०७९/८० देखि फल्चा निर्माणको लागि बजेट विनियोजन गर्दै आएको छ। आर्थिक वर्ष २०८०/८१ मा विजुली बजार क्षेत्रमा दुईवटा फल्चा निर्माण सम्पन्न भई उद्घाटन समेत भइसकेको छ। माघ २०८१ मा जारी कार्यादेशअनुसार थप २४ वटा फल्चा निर्माणको प्रक्रिया अगाडि बढाइएको छ, जसमध्ये आठवटा फल्चाको निर्माण कार्य सम्पन्न भइसकेको र बाँकी कार्य माघ २०८२ भित्र पूरा गरिने योजना रहेको महानगरले जनाएको छ। यी संरचनाहरूको कुल लागत करिब ९ करोड रुपैयाँ रहेको छ।
फल्चाहरूमा झिंगटीको छाना, बुट्टेदार अग्राख, थाम लगायत काठका कलात्मक भागहरू राखिँदैछ, जसले फल्चालाई सौन्दर्यपूर्ण मात्र नभई सांस्कृतिक आकर्षणको केन्द्र पनि बनाउनेछ। यी फल्चाहरू अपाङ्गमैत्री बनाइएका छन्, जहाँ यात्रुहरूका लागि दुईतर्फी विश्रामको व्यवस्था गरिएको छ र बीचमा सहज आवागमनको बाटो खुला राखिएको छ।
फल्चा निर्माणको यो अभियान काठमाडौंको मौलिकता, परम्परा र सांस्कृतिक सम्पदाको पुनर्जागरण गर्ने एउटा सार्थक प्रयासको रूपमा हेरिएको छ।