
कार्यक्रममै युवा पक्राउ, प्रचण्डसँग प्रश्न राख्न खोज्दा तनाव।


नुवाकोट सुर्यगढी, जेठ १७
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न राख्न खोज्दा नुवाकोट सुर्यगढी–२ का जनार्दन अधिकारी हातपातमा परेका छन्। कार्यक्रमका क्रममा प्रश्न राख्ने क्रममा भएको भनाभनपछि उनीमाथि शारीरिक आक्रमण भएको हो।
नुवाकोटमा आयोजित सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा समय अत्यन्त छोटो रहेको भन्दै “प्रश्न उत्तरको समय छैन” भन्ने स्पष्ट जानकारी दिएका थिए। तर, जनार्दन अधिकारीले त्यसको अटेर गर्दै प्रश्न राख्ने प्रयास गरेपछि विवाद सुरु भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार सोही क्रममा कार्यक्रमस्थलमा उपस्थित केही व्यक्तिहरूले उनलाई धकेलेका थिए र हातपातसमेत भएको थियो।
घटनापछि जनार्दन अधिकारीले आफूलाई योजनाबद्ध रूपमा दमन गरिएको आरोप लगाएका छन्। “लोकतान्त्रिक मुल्य मान्यता विपरित एउटा सामान्य प्रश्न उठाउन खोज्दा यसरी पिटाइ खाँदा दुःख लागेको छ,” उनले भने।
यता, माओवादी केन्द्रका स्थानीय नेताहरूले भने यो घटनालाई “कार्यक्रमको व्यवस्थापनमा उत्पन्न असमझदारी” का रूपमा लिएका छन्। तर, नागरिक समाज र युवा प्रतिनिधिहरूले भने घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
हालसम्म प्रहरी प्रशासनबाट औपचारिक धारणा आएको छैन। घटनाले देशभर लोकतान्त्रिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको विषयमा बहस चर्किएको छ।