कुकुरको लागि बजेट माग्दा मेयरको आक्रोश! संरक्षणकर्मीलाई कार्यकक्षमै कुट्न खोजे।

0
48

विराटनगरमा कुकुर संरक्षणका लागि बजेट माग्दा मेयरको कार्यकक्षमै तनाव, संरक्षणकर्मीमाथि दुर्व्यवहारको आरोप

समाचार विवरण:
विराटनगर, असार १० – विराटनगर महानगरपालिकामा कुकुर संरक्षणको लागि बजेट माग्दा विवाद चर्किएको छ। कुकुरको उद्धार र संरक्षणमा सक्रिय एलिना प्रसाईं र उनका दाजु शाहिल प्रसाईं महानगर प्रमुख नागेश कोइरालासँग भेटघाटका लागि सोमबार मेयर कार्यकक्ष पुगेका थिए।

रानी क्षेत्रमा खोलिएको कुकुर आश्रयस्थल (सेल्टर) को अवस्था झन् जटिल बन्दै गएको भन्दै उनीहरूले बर्खामा डुबान हुने खतरा रहेको भन्दै सहयोगको अनुरोध गरेका थिए। तर, सहयोग गर्न नसक्ने भन्दै मेयर कोइरालाले रुखो शैलीमा जवाफ दिएको एलिना प्रसाईंको आरोप छ।

उनका अनुसार, मेयरले अपमानजनक व्यवहार गर्दै कुटपिटको प्रयाससमेत गरेका थिए। “हामी शान्तिपूर्वक सहयोगको लागि अनुरोध गर्न गएका थियौं, तर मेयरको व्यवहार निकै अपमानजनक र अशोभनीय भयो,” एलिनाले सञ्चारकर्मीहरूसँग भनिन्।

प्रसाईं दाजुबहिनीले सेल्टरका लागि बजेट विनियोजन गरिदिन आग्रह गरेका थिए, तर मेयर कोइरालाले त्यसबारे कुनै सुनुवाइ नगरेको उनीहरूको भनाइ छ।

यस घटनापछि सामाजिक सञ्जालमा जनप्रतिनिधिको व्यवहारप्रति चर्को आलोचना हुन थालेको छ। स्थानीयहरू पनि महानगरको उदासीनता र पशुप्रतिको संवेदनशीलताको अभावप्रति असन्तुष्टि जनाइरहेका छन्।

विराटनगर महानगरपालिकाले भने यसबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

LEAVE A REPLY