
क्यान्सर विरामीका लागि ठूलो खबर: विदेश जानुपर्दैन, औषधि अब नेपालमै निःशुल्क”


डाइरेक्ट रिलिफले नेपाललाई दुर्लभ क्यान्सर औषधि सहयोग गर्ने घोषणा, स्वास्थ्यमन्त्रीको प्रतिवद्धता — अब उपचारमा राहतको आशा!
काठमाडौं — अमेरिकास्थित अन्तर्राष्ट्रिय संस्था डाइरेक्ट रिलिफ (Direct Relief) ले आगामी ५ वर्षसम्म नेपाललाई क्यान्सर उपचारमा आवश्यक पर्ने ३७ प्रकारका दुर्लभ औषधिहरू निःशुल्क सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यो सहयोगबाट आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका हजारौं क्यान्सर रोगीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधिको अभावमा नेपाली नागरिक विदेश जानु परेको विडम्बनात्मक अवस्थालाई समाप्त गर्न सरकारले प्राथमिकता दिएको जानकारी दिए। उनले भने,
“अबदेखि सरकारी अस्पतालहरूमा क्यान्सरका विरामीलाई आवश्यक औषधिहरू निःशुल्क उपलब्ध गराइनेछ। औषधिको व्यवस्था मिलाइएको छ, वितरण तत्काल सुरु हुन्छ।”
सरकारी क्यान्सर अस्पतालमा औषधि पुर्याउने तयारी
मन्त्री पौडेलका अनुसार डाइरेक्ट रिलिफबाट प्राप्त हुने पहिलो चरणको औषधि निकट भविष्यमै सरकारी क्यान्सर अस्पतालहरूमा पठाइनेछ। साथै, रोगीहरूको आवश्यकता अनुसार औषधिको सूची थप गर्दै राहत कार्यक्रम विस्तार गरिने योजना रहेको उनले बताए।
स्वास्थ्य मन्त्रालयले यस अभियानलाई दीर्घकालीन सहयोगको रूपमा लिएर औषधि व्यवस्थापन, भण्डारण र वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन विशेष संयन्त्रको तयारी पनि गरिरहेको छ।
उपचारमा आर्थिक भार घट्ने आशा
नेपालमा क्यान्सरजस्ता जटिल रोगहरूको उपचार निकै खर्चिलो हुने भएकाले डाइरेक्ट रिलिफको यो पहलले विशेषगरी निम्न आय भएका वर्गलाई जीवन रक्षक औषधिमा पहुँच दिलाउनेछ। मन्त्री पौडेलले यसलाई एक ऐतिहासिक अवसर भन्दै अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग पनि दीर्घकालीन सहयोगको खाका तयार पारिने बताए।