
खुकुरी काण्डपछि देउवासँग भूपेशको भेट: राजनीतिक संरक्षणको आंशका।


तरुण दलको अधिवेशन हिंसात्मक: फरार अभियुक्त भूपेशको देउवासँग बैठकले कानुनी राज्यमाथि प्रश्न
लमजुङ, जेठ १७ — नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको लमजुङ अधिवेशनमा भएको खुकुरी प्रहारको घटनाले राजनीतिक संरक्षित अपराध र कानुनी राज्यबीचको द्वन्द्व फेरि एकपटक सतहमा ल्याएको छ। अधिवेशनका क्रममा चारजना घाइते हुने गरी भएको आक्रमणका अभियुक्तहरूमध्ये एकजना मात्रै पक्राउ परेका छन्, बाँकी चार अझै फरार छन्। तर, फरार अभियुक्त कुमराशी (भूपेश) गुरुङको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताको तस्बिर सार्वजनिक भएपछि ती फरार अभियुक्तहरू राजनीतिक संरक्षणमा खुलेआम घुमिरहेको आशंका बलियो बनेको छ।
घटनापछि प्रहरी प्रशासनले सुरुमा जाहेरी लिनै मानेन। सार्वजनिक दबाबपछि मात्र उजुरी दर्ता गरिएको र त्यसपश्चात् पक्राउ पूर्जी जारी गरिएको पुष्टि भए पनि अझै अधिकांश अभियुक्तहरू फरार छन्। विशेषतः कार्यवाहक अध्यक्ष रहेका भूपेश गुरुङको गतिविधिमा प्रहरीले आँखा चिम्लेको आरोप पीडित पक्षले लगाउँदै आएको छ।
भूपेशले देउवासँग गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ, तरुण दल अध्यक्ष विद्वान गुरुङलगायत नेताहरूको उपस्थितिमा बैठक गरेको खुलेको छ। यसले नेपाली कांग्रेसभित्रको गुटगत शक्ति संघर्षले कानुनी कार्यवाहीलाई प्रभावित गरेको देखिन्छ।
घटनाका प्रत्यक्षदर्शी र घाइतेहरू भन्छन्, “खुकुरी प्रहार आँखै अगाडि भयो, प्रहरीले हेरिरहेको थियो तर तत्काल केही गरेन। अहिले फरार अभियुक्त नै उच्च नेताहरूसँग खुलेआम देखिनु कानुनको उपहास हो।”
यस घटनाले न्याय प्रणाली, राजनीतिक हस्तक्षेप र प्रहरी निष्क्रियता बारे गम्भीर प्रश्न उठाएको छ। कानुनी शासनको जग बलियो पार्न राजनीतिक दलहरूले आ–आफ्ना संरक्षित अपराधीहरूलाई होइन, पीडित नागरिकलाई प्राथमिकता दिन जरुरी छ।