
गणतन्त्रको प्रगतिशील चरित्र समाप्त पारियो : धर्बेन्द्र बास्तोला।


गणतन्त्रको प्रगतिशील चरित्र समाप्त पारियो : नेकपा (बहुमत)।
काठमाडौं, जेठ १५ — नेकपा (बहुमत) ले गणतन्त्र स्थापनालाई ऐतिहासिक उपलब्धि भने पनि त्यसको प्रगतिशील चरित्र आजको दलाल पुँजीवादी व्यवस्थाले समाप्त पारिदिएको आरोप लगाएको छ। १७औं गणतन्त्र दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाले गणतन्त्रको नाममा कायम गरिएको वर्तमान संरचना जनताको हित विपरीत रहेको टिप्पणी गरेका छन्।
बास्तोलाले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना सामाजिक विकासको दिशामा महत्वपूर्ण पाइला थियो। तर, त्यसपछि सत्तामा पुगेका शक्तिहरूले राष्ट्रघाती सन्धी–सम्झौताहरू गर्दै देशलाई साम्राज्यवादी प्रभावमा बन्धक बनाएका छन्।”
उनका अनुसार, गणतन्त्र स्थापनापछि आश गरिएको परिवर्तनको सट्टा भ्रष्टाचार, महँगी, बेरोजगारी, सामाजिक असहिष्णुता र साम्प्रदायिकता झनै बढेको छ। “यो अवस्था जनविरोधी र राष्ट्रघाती प्रवृत्तिको परिणाम हो,” विज्ञप्तिमा भनिएको छ।
गणतन्त्रको नाममा दलाल पुँजीवाद?
नेकपा (बहुमत)ले हालको व्यवस्थालाई ‘दलाल पुँजीवाद’ को उदाहरणका रूपमा चित्रण गर्दै यो गणतन्त्रजन्य शासन नभई सत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरेको छ। पार्टीका अनुसार, जनताका नाममा सञ्चालित शासन प्रणालीमा जनताको प्रतिनिधित्व कमजोर हुँदै गएको छ र विदेशी प्रभाव बढ्दो छ।
बास्तोलाले राष्ट्रको स्वाधीनता सुनिश्चित गर्ने गरी वैकल्पिक राजनीतिक धारको निर्माण आवश्यक भएकोमा जोड दिएका छन्। “गणतन्त्रको नाममा भएका उपलब्धिहरूलाई रक्षा गर्न र जनताको वास्तविक शासन सुनिश्चित गर्न वैचारिक स्पष्टता र नयाँ संघर्षको तयारी अपरिहार्य भएको छ,” विज्ञप्तिमा उल्लेख छ।