गणतन्त्र हल्लिँदा प्रचण्डको पीर स्वाभाविक हो : लिङ्देन।

0
13

गणतन्त्र हल्लिँदा प्रचण्डको पीर स्वाभाविक हो : लिङ्देन

काठमाडौं, जेठ १७ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रविरोधी आन्दोलनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देखाएको प्रतिक्रिया स्वाभाविक भएको टिप्पणी गरेका छन्। शनिबार आयोजित राजसंस्थाको पुनःस्थापनासम्बन्धी आन्दोलनका क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लिङ्देनले यस्तो बताएका हुन्।

‘गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो चिन्ता प्रचण्डलाई हुनु अस्वाभाविक होइन’, लिङ्देनले भने, ‘चिन्तामा परेका बेला मानिसले के–के बोल्छ, त्यसलाई सामान्य रूपमा लिनुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले केही समयअघि राजावादीहरूले “चुरीफुरी” गरेको र पैसा दिएर मान्छे झारेको आरोप लगाएका थिए। उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै लिङ्देनले भने, ‘उहाँले आफैंले विगतमा मान्छेहरू ल्याउँदा जुन प्रविधि अपनाउनुभएको थियो, त्यो सम्झना गरिएको हुन सक्छ।’

लिङ्देनले गणतन्त्रको समर्थनमा अतीतमा आयोजित कार्यक्रमहरूको उदाहरण दिँदै भने, ‘टाढा–टाढाबाट मान्छेहरू ल्याएर पार्टी प्यालेसमा भोज खुवाइएको, पैसा बाँडिएको कुरा उहाँहरूमै थाहा छ। त्यसैले त्यो उहाँकै अनुभव हुनसक्छ।’

उनले सरकारलाई दबाब दिन जनसमर्थन बढाउने अभियान निरन्तर चल्ने बताएका छन्। ‘हामी कुनै हतारमा छैनौं। यदि जनसमर्थन पर्याप्त भयो भने सरकार झुक्न बाध्य हुन्छ। नत्र फेरि अर्को प्रयास हुन्छ,’ लिङ्देनले स्पष्ट पारे।

राप्रपाले हालै सार्वजनिक रूपमा राजसंस्थाको पुनःस्थापनाको एजेन्डा अघि सारेको छ र त्यससँगै आन्दोलनमूलक कार्यक्रम पनि बढाउँदै लगेको छ। यसले नेपाली राजनीतिमा गणतन्त्र र राजतन्त्रबारेको बहस पुनः तातिएको संकेत देखिएको छ।

LEAVE A REPLY