
गोंगबुमा विशेष प्रहरी कारबाही, करोडौं नगद बरामद।


गोंगबुमा विशेष प्रहरी कारबाही, करोडौं नगद बरामद
काठमाडौँ । राजधानी काठमाडौँको गोंगबु क्षेत्रमा मंगलबार साँझ प्रहरीले गरेको विशेष कारबाहीमा करिब चार करोड रुपैयाँ नगद बरामद भएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले लुकाइराखिएको ठूलो मात्राको रकम फेला पारेको हो ।
बिशेष सूचनाको आधारमा प्रहरीले केही समयदेखि सो घरको गतिविधि निगरानी गर्दै आएको थियो । मंगलबार अपराह्न प्रहरीले एआईजी टेकबहादुर तामाङको नेतृत्वमा छापा मार्दा, घरभित्र विभिन्न कोठामा लुकाइराखिएको ठूलो परिमाणको नगद फेला परेको हो ।
प्रहरीको टोली अचानक ठूलो संख्यामा गोंगबु पुगेपछि वरिपरिको वातावरण नै तनावपूर्ण बनेको थियो । छिमेकी घरका बासिन्दा घटनास्थलमा के भइरहेको छ भनेर हेर्न भेला भएका थिए । केही स्थानीयले घरमा लामो समयदेखि अनौठा गतिविधि देखिँदै आएको बताएका छन् ।
“हामीलाई घरमा प्रायः अपरिचित मानिसहरूको आउजाउ देखिन्थ्यो । तर के भइरहेको हो भन्ने स्पष्ट थाहा थिएन । आज प्रहरीले छापा मार्दा बल्ल कुरा खुलेको हो,” एक स्थानीयबासीले भने ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले पत्रकारहरूसँग कुरा गर्दै बरामद भएको नगदबारे विस्तृत अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।
“करिब चार करोड रुपैयाँ बरामद भएको छ । रकमको स्रोत, स्वामित्व र प्रयोगबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक चरणमै धेरै सामग्री हामीले नियन्त्रणमा लिएका छौँ,” तामाङले बताए ।
प्रहरीले नगदसँगै घरभित्र रहेका केही कागजात, लेनदेनसम्बन्धी फाइल र इलेक्ट्रोनिक उपकरण समेत कब्जामा लिएको छ । ती सामग्रीले रकमको वास्तविक स्रोत पत्ता लगाउन मद्दत गर्ने प्रहरीको विश्वास छ । अनुसन्धानकर्ताहरूले बरामद नगद अवैध कारोवार, हुन्डी वा अन्य आपराधिक गतिविधिसँग सम्बन्धित हुन सक्ने प्रारम्भिक आशंका गरेका छन् ।
पछिल्लो समय विभिन्न गिरोहले हुन्डी, गैरकानुनी लगानी र अवैध व्यापारमार्फत ठूलो परिमाणको रकम चलनचल्तीमा ल्याउने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।बरामद भएको रकम अहिले प्रहरी नियन्त्रणमा राखिएको छ । घटनासम्बन्धी विस्तृत प्रतिवेदन तयार भएपछि मात्रै रकमको स्रोत र संलग्न व्यक्तिहरूबारे प्रष्ट जानकारी आउनेछ ।
“हामीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेका छौँ । अनुसन्धानलाई छिटो टुङ्ग्याउने प्रतिबद्धता लिएका छौँ,” एआईजी तामाङले भने
गोंगबुमा बरामद भएको नगद अहिले स्थानीयबासी मात्र नभई सम्पूर्ण उपत्यकावासीको चासोको विषय बनेको छ । यसबाट फेरि देखिएको छ कि राजधानीभित्रै अझै अवैध कारोबार सक्रिय छन् । प्रहरीको छानबिन र अदालतमा पुग्ने प्रक्रियाबाट मात्र यो घटनाको अन्तिम सत्य उजागर हुनेछ ।