जेनजि आन्दोलन : राजधानीमा मृतक संख्या १४, घाइते विवरण अझै अज्ञात।

0
15

काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा राजधानीमा भड्किएको प्रदर्शन थप उग्र बन्दै गएको छ। सोमबार दिउँसो साढे ३ बजेसम्म उपत्यकामा भएका विभिन्न झडप र सुरक्षाकर्मीको हस्तक्षेपका क्रममा मृत्यु हुनेहरुको संख्या १३ पुगेको सरकारी स्रोतले जनाएको थियो। तर, अपराह्न सिभिल अस्पतालमा उपचाररत एक प्रदर्शनकारीले ज्यान गुमाएपछि मृतकको संख्या १४ पुगेको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, हालसम्म उपत्यकाका पाँचवटा अस्पतालमा मृत्यु भएका प्रदर्शनकारीको आधिकारिक विवरण प्राप्त भएको छ। तीमध्ये सबैभन्दा बढी ६ जनाको मृत्यु ट्रमा सेन्टरमा भएको छ। यस्तै, सिभिल अस्पतालमा मृत्यु हुनेको संख्या ३ पुगेको छ। केएमसी अस्पतालमा १ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र एभरेष्ट अस्पतालमा ३ जनाले ज्यान गुमाएका छन्।

सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध उत्रिएका जेनजि पुस्ताका युवाहरू राजधानीका विभिन्न चोक र सडकमा भेला भएर प्रदर्शन गरिरहेका छन्। उनीहरूले स्वतन्त्र अभिव्यक्ति र सूचना पहुँचको अधिकार कुण्ठित गर्न नपाइने भन्दै नाराबाजी गरेका छन्। तर, सुरक्षाकर्मीले बल प्रयोग गर्दा भिड नियन्त्रणका क्रममा मृत्यु हुने र घाइते हुनेहरूको संख्या दिनप्रतिदिन बढ्दो अवस्थामा छ।

मन्त्रालय स्रोतका अनुसार, मृत्युको तथ्याङ्क सार्वजनिक भए पनि घाइतेहरूको यकिन संख्या अझै प्राप्त भएको छैन। विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको अवस्था मध्यमदेखि गम्भीरसम्म रहेको जनाइएको छ। कतिपयलाई आइसियुमा राखेर उपचार भइरहेको छ।

यसैबीच, घटनापछि राजधानीमा सुरक्षा सतर्कता उच्च बनाइएको छ। संवेदनशील ठाउँमा थप प्रहरी परिचालन गरिएको छ भने प्रमुख चोक–चौराहामा सुरक्षा बलको निगरानी बढाइएको छ। विरोधमा उत्रिएका युवाहरूलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास, पानीको फोहरा र केही स्थानमा लाठीचार्ज समेत गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

सामाजिक

LEAVE A REPLY