जेनजी आन्दोलनमा १९ को मृत्यु, प्रधानमन्त्रीले घुसपैठको आरोप–गृहमन्त्री लेखकले दिए राजीनामा।

0
5

काठमाडौं । जेनजी पुस्ताले थालेको आन्दोलन हिंसात्मक रूप लिन पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसमा बाहिरी घुसपैठ भएको आरोप लगाएका छन्। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले आन्दोलनको वास्तविक भावनालाई केही समूहले दुरुपयोग गरेर हिंसा भड्काएको दाबी गर्दै अप्रिय परिणाम त्यही कारणले आएको बताएका हुन्। उनका अनुसार असन्तुष्ट युवाहरूको आवाज genuine भए पनि त्यसलाई स्वार्थी तत्वहरूले भट्काइदिएपछि घटनाले दुःखद मोड लिएको हो।

यता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका ताजा तथ्यांक अनुसार हालसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् भने करिब ३४७ जना घाइते छन्। काठमाडौका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको चाप बढ्दो छ। सिभिल अस्पतालमा मात्रै करिब सय जना उपचाररत छन् र तीन जनाको मृत्यु भइसकेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना भर्ना हुँदा आठ जनाले ज्यान गुमाएका छन्। बानेश्वरस्थित एभरेष्ट अस्पतालमा १०२ जना उपचाररत छन् र तीन जनाको मृत्यु भएको छ भने काठमाडौं मेडिकल कलेजमा ३७ जना उपचारमा रहँदा दुई जनाको ज्यान गएको छ। त्रिवि शिक्षण अस्पतालमा १८ जना भर्ना छन् र एक जनाको मृत्यु भएको छ। अन्य अस्पतालहरू—पाटन, नर्भिक, गण्डकी, पोखरा, विराट, दमकदेखि धरानसम्म घाइतेहरूको उपचार भइरहेको छ, जसमा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै दुई जनाले ज्यान गुमाएका छन्।

यसबीचमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले ‘मार्ग प्रशस्त गर्न’ निर्देशन दिएपछि लेखक बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन्। आन्दोलनका क्रममा व्यापक हिंसा भड्किँदा गृहमन्त्रीको भूमिकामा आलोचना बढेपछि उनले जिम्मेवारी बोध गर्दै पद त्यागेको स्रोतले बताएको छ।

जेनजी आन्दोलनको घटनाले मुलुकभर राजनीतिक तरंग थप चर्किएको छ। एकातिर प्रधानमन्त्रीले घुसपैठको आरोप लगाइरहेका छन् भने अर्कोतिर आन्दोलनमा ज्यान गुमाएका र घाइते परिवार न्याय र उपचारका लागि अपिल गरिरहेका छन्। यसबीच, सरकारको संकट व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठ्न थालेको छ।


 

LEAVE A REPLY