
दरबारमार्गमा अवैध निर्माणप्रति नेकपा बहुमतको आपत्ति, महानगरलाई तत्काल रोक्न आग्रह।


दरबारमार्गमा अवैध निर्माणप्रति नेकपा बहुमतको आपत्ति, महानगरलाई तत्काल रोक्न आग्रह
काठमाडौं, असार ५
दरबारमार्ग क्षेत्रको एक बहुमूल्य भूभागमा गैरकानुनी रूपमा अगाडि बढाइएको निर्माण कार्यप्रति नेकपा (बहुमत) ले गम्भीर आपत्ति जनाउँदै काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको छ।
काठमाडौं महानगर समिति अन्तर्गत नेकपाको टोलीले हालै महानगर प्रमुख बालेन्द्र साहलाई औपचारिक पत्र बुझाउँदै होटल डेला अन्नपूर्ण प्रा.लि.ले बिना अनुमति अगाडि बढाएको निर्माण कार्य तत्काल रोकिनुपर्ने माग गरेको छ।
समितिले जनाएको अनुसार, दरबारमार्गस्थित वडा नं. १ मा पर्ने कित्ता नं. ६१५ र १५५५ मा रहेको कुल ४१ रोपनी १ आना क्षेत्रफलमध्ये ११ रोपनी १ आना जग्गा भूमिसुधार ऐनको हदबन्दीभन्दा बढी भएकाले कानुन अनुसार कुनै पनि किसिमको भाडा, धितो वा बिक्रीका लागि प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ। तर, पार्टीका अनुसार सो जग्गामा यो कानुनी व्यवस्था उल्लंघन गरी निर्माण अगाडि बढाइएको छ।
कार्यवाहक इञ्चार्ज निश्चल थापाको हस्ताक्षरसहित पठाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “काठमाडौं महानगरबाट निर्माण स्वीकृति नलिइ गैरकानुनी ढंगले संरचना निर्माण भइरहेको पाइएको छ। यस्ता गतिविधि रोक्न महानगरले तत्काल कदम चाल्नुपर्छ।”
पार्टीले थप कार्यवाहीका लागि नेपाल ट्रस्ट कार्यालयलाई समेत जानकारी गराएको उल्लेख गरेको छ।