नगरबिकास डटकम : विपिनको शीघ्र रिहाइका लागि सरकारले हर सम्भव पहल गरिरहेको छ – प्रधानमन्त्री ओली।

0
10

 

नगरबिकास डटकम : विपिनको शीघ्र रिहाइका लागि सरकारले हर सम्भव पहल गरिरहेको छ – प्रधानमन्त्री ओली

भदौ २, २०८२ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएर राखेका नेपाली युवा विपिन जोशीको सुरक्षित तथा शीघ्र रिहाइका लागि सरकारले सम्पूर्ण शक्ति प्रयोग गरिरहेको बताएका छन्।

ओलीले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश जारी गर्दै, विपिनलाई घर फर्काउनु सरकारको नैतिक तथा संवैधानिक दायित्व भएको प्रष्ट पारे। उनका अनुसार, परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका नेपाली दूतावासमार्फत निरन्तर संवाद र पहल गरिरहेको छ भने विपिनको परिवारलाई सरकार आफूसँगै रहेको आश्वासन दिइएको छ।

प्रधानमन्त्री ओलीले इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा र बहिनीले त्यहाँका राष्ट्रपति तथा संसद् अध्यक्षसँग भेटेर अनुरोध गरिसकेको जानकारी दिए। साथै उनले टर्की र इजिप्टका राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरी विपिनको रिहाइका लागि विशेष आग्रह गरिएको बताए।

“विपिन केवल एउटा परिवारको मात्र होइन, सम्पूर्ण नेपालीको सन्तान हुन्। उनको सुरक्षित फर्काइ सरकारको दायित्व हो। यसका लागि हामी कुनै कसर बाँकी राख्दैनौं,” ओलीले भने।

सरकारले यस प्रकरणलाई अत्यन्त संवेदनशील मानेर अन्तर्राष्ट्रिय समुदायसँग समेत सहयोगको अपिल गरिरहेको र विपिनलाई छिट्टै स्वदेश ल्याउन कूटनीतिक प्रयासलाई अझ तीव्र बनाइएको ओलीले बताएका छन्।


 

LEAVE A REPLY