निजी मेडिकल कलेजको सिट वृद्धि विरुद्ध डा. केसीको सत्याग्रह।

0
7

डा. गोविन्द केसीको सत्याग्रह सुरु

काठमाडौं – स्वास्थ्य शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले पुनः सत्याग्रह सुरु गरेका छन्। आइतबार धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गरेर उनले तीन दिनसम्म सत्याग्रह बस्ने घोषणा गरे।

डा. केसीले निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने निर्णयलाई जनविरोधी भन्दै खारेज गर्नुपर्ने माग राखेका छन्। उनका अनुसार यस्तो निर्णयले शिक्षाको गुणस्तर घट्ने मात्र होइन, साधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पाउन कठिन हुने अवस्था सिर्जना हुन्छ। “नेता र माफियाको झोला भरिन्छ, तर नेपाली जनताको स्वास्थ्यसँग खेलबाड हुन्छ,” उनले भने।

सत्याग्रहमार्फत् डा. केसीले सरकारसँग तीन प्रमुख माग गरेका छन्। पहिलो, निजी मेडिकल कलेजको सिट वृद्धि तुरुन्त फिर्ता गर्नुपर्ने। दोस्रो, इलाम, उदयपुर र डडेलधुरा जिल्लामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने। तेस्रो, कैलालीको गेटा मेडिकल कलेजमा तयार भइसकेको भवन र संरचनालाई प्रयोगमा ल्याएर तत्काल शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने।

उनले चेतावनी दिँदै भने, “यदि यी माग पूरा भएनन् भने जनताको स्वास्थ्य शिक्षा अझ संकटमा पर्छ।”

डा. केसीको सत्याग्रहसँगै पुनः स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारका प्रश्नले राष्ट्रिय बहसलाई तातो बनाउने संक देखिएको छ।


 

LEAVE A REPLY