
निर्माण क्षेत्रमा गुणस्तर र इमान्दारी नै दीर्घ सफलताको आधार हो : व्यवसायी बिजय राज भण्डारी।


निर्माण क्षेत्रमा गुणस्तर र इमान्दारी नै दीर्घ सफलताको आधार हो : व्यवसायी बिजय राज भण्डारी
काठमाडौँ । निर्माण तथा रियल स्टेट व्यवसायी बिजय राज भण्डारीले नेपालमा निर्माण क्षेत्रको दिगो विकासका लागि गुणस्तर र इमान्दारीलाई मुख्य आधार बनाउनु पर्ने बताएका छन्।
नगर विकास डटकमसँग भएको फोन संवादमा भण्डारीले भने, “नेपालको निर्माण क्षेत्र विस्तार त भइरहेको छ, तर गुणस्तरमा कमी र छोटो समयमा नाफा कमाउने सोचले समस्या सिर्जना गरेको छ। विकासका संरचनाले टिकाउ हुन इमान्दार व्यवसायिक अभ्यास आवश्यक छ।”
उनले निर्माणमा संलग्न सबै पक्षलाई इमान्दार र जिम्मेवार बन्न आग्रह गरे। “हामीले तत्काल नाफाभन्दा दीर्घकालीन साखलाई प्राथमिकता दिनुपर्छ। गुणस्तरीय निर्माण गर्न सके मात्र देशको पूर्वाधार दीर्घकालसम्म टिक्छ,” भण्डारीले भने।
भण्डारीका अनुसार हालका वर्षहरूमा ठेक्का प्रणाली र निगरानी कमजोर भएको कारण इमान्दार व्यवसायीहरू पनि पछाडि परेका छन्। उनले भने, “ठेक्का प्रक्रियामा पारदर्शिता हुन सकेन भने गुणस्तरीय काम सम्भव हुँदैन। सरकार र सम्बन्धित निकायले इमान्दार व्यवसायीको संरक्षण गर्नुपर्छ।”
रियल स्टेट बजारबारे कुरा गर्दै उनले बजारमा योजना र पारदर्शिताको अभाव देखिएको बताए। “नेपालमा रियल स्टेटको बजार तीव्र गतिमा बढ्दै छ, तर योजना बिना प्लटिङ र अनियन्त्रित मूल्यवृद्धिले आम नागरिकको पहुँचबाट घरजग्गा टाढा बन्दै गएको छ,” उनले भने।
उनका अनुसार रियल स्टेट व्यवसायलाई व्यवस्थित बनाउन नीति र मापदण्ड आवश्यक छन्। “रियल स्टेटले रोजगारी र राजस्वमा ठूलो योगदान दिन सक्छ। तर यसको लागि दीर्घकालीन योजना र जिम्मेवार व्यावसायिक आचरण जरुरी छ,” भण्डारीले भने।
उनले निर्माण क्षेत्रमा प्रविधि र सीपयुक्त जनशक्ति विकास गर्न जोड दिए। “आजका युवाहरूलाई निर्माण व्यवसायमा ल्याउन सकियो भने देशभित्रै रोजगारी सिर्जना हुन्छ। हामीले दक्ष जनशक्ति तयार गर्न सकेमा विदेशी कम्पनीहरूसँग पनि प्रतिस्पर्धा गर्न सक्छौं,” उनले जोड दिए।
संवादका क्रममा भण्डारीले निर्माण र रियल स्टेट क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा हेर्न आग्रह गरे। “सरकारले यो क्षेत्रमा स्पष्ट नीति ल्याएर पारदर्शी प्रणाली बनायो भने लगानी बढ्नेछ। गुणस्तर र इमान्दारीमा आधारित निर्माणले मात्र देशको विकासलाई गति दिन सक्छ,” उनले भने।
भण्डारीले अन्त्यमा भने, “हामी सबैले जिम्मेवारीपूर्वक काम गर्न सकेकाे खण्डमा नेपालको विकासका संरचना टिकाउ र सुरक्षित बन्नेछन्। गुणस्तरमा सम्झौता गरेर कुनै पनि देश अघि बढ्दैन।”