
नेपाल कम्युनिस्ट पार्टीको अगुवाइमा सञ्चालित केन्द्रबाट शतप्रतिशत तरबुज उत्पादन बजारमा”।


नेपाल कम्युनिस्ट पार्टीको अगुवाइमा सञ्चालित केन्द्रबाट शतप्रतिशत तरबुज उत्पादन बजारमा”
कैलाली, जेठ ३१ – कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–९ मा अवस्थित रतिपुर उत्पादन केन्द्रले हिउँदे बालीअन्तर्गत उत्पादन गरिएको ४२५ क्विन्टल तरबुज स्थानीय बजारमा बिक्रि गरेको छ। उत्पादन केन्द्रका प्रमुख डबल बहादुर सी (भगतसिंह) का अनुसार तरबुज बिक्रि स्थानीय व्यापारीमार्फत प्रतिकिलो रु १६ को दरले होलसेलमा गरिएको हो।
करिब ४ बिघा क्षेत्रफलमा लगाइएको तरबुज अझै ३ सय क्विन्टलभन्दा बढी बिक्रि हुन बाँकी रहेको जानकारी दिँदै प्रमुख सीले स्थानीय कृषक र श्रमिकहरूको योगदानले उत्पादन वृद्धि र आम्दानीमा सकारात्मक प्रभाव पारेको बताए।
यसअघि पनि रतिपुर उत्पादन केन्द्रले १ लाख केजी आलु उत्पादन गरी जनश्रम सहकारीमार्फत बजारमा पठाएको थियो। ती आलुहरू नेपालका उद्योगपति विनोद चौधरीको स्वामित्वमा रहेको सीजी कम्पनीले खरिद गरेको थियो, जुन यस केन्द्रको व्यवसायिक सञ्जाल विस्तारतर्फको एउटा उदाहरण मानिएको छ।
उक्त उत्पादन केन्द्रमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रमुख सीसहित २२ जना नेताकार्यकर्ता शेयर सदस्यका रूपमा संलग्न छन्। साथै, स्थानीय बासिन्दाहरू पनि श्रम, लगानी र उत्पादन प्रक्रियामा प्रत्यक्ष सहभागी छन्।
नेपाल कम्युनिस्ट पार्टीले समावेशी आर्थिक दृष्टिकोण अनुसार उत्पादन केन्द्रमा पार्टी, नेताकार्यकर्ता र सर्वसाधारणको संयुक्त स्वामित्वको मोडेल लागू गर्दै आएको छ। कृषि, पशुपालन, व्यापार र उद्योग–गार्मेन्ट जस्ता विविध क्षेत्रका उपक्रमहरू देशका विभिन्न भागमा सञ्चालनमा ल्याइएका छन्।
सुदूरपश्चिम उत्पादन केन्द्रको नेतृत्वमा हाल कैलाली र कञ्चनपुरमा बर्खे बालीअन्तर्गत २७ बिघा क्षेत्रफलमा धान खेतीको तयारी भईरहेको छ। स्थानीय उत्पादन र समावेशी लगानी प्रणालीमार्फत आर्थिक आत्मनिर्भरता निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित पार्टीले आफ्नो गतिविधि तीव्र बनाएको देखिन्छ।