
नेपो बेबी’ संस्कृति, जेन–जेड आन्दोलन र मुल प्रश्न : के हामीले विजयी दशमी पायौं?

‘नेपो बेबी’ संस्कृति, जेन–जेड आन्दोलन र मुल प्रश्न : के हामीले विजयी दशमी पायौं?

विगतका राजनीतिक आन्दोलनहरूले यो मुलुकमा लोकतन्त्र ल्याए। सयौँ सहिद भए, हजारौँ घाइते भइन्। तर, आज पनि ती सहिदका परिवारहरू न्यायको प्रतीक्षा गर्दैछन्, घाइतेहरू उपचार खर्चको अभावमा तड्पिरहेका छन्। उनीहरूको बलिदानले मुलुकले पाएको उपलब्धि कतिसम्म सार्थक बन्यो भन्ने प्रश्न अझै अनुत्तरित छ।
आज देशमा नयाँ बहस सुरु भएको छ — ‘नेपो बेबी’ संस्कृति र जेन–जेड पुस्ताको आन्दोलन।
नातावाद र पहुँचवादले अवसर कब्जा गर्ने परिपाटीलाई ‘नेपो बेबी’ भनिन्छ। यही प्रवृत्तिले राजनीतिलगायत हरेक क्षेत्रमा योग्यतालाई पछाडि धकेलेर सम्बन्धलाई अगाडि बढाइदिएको छ। यसको पीडित सामान्य युवा पुस्ता हो, जसलाई रोजगार, नेतृत्व र अवसरमा समान पहुँच मिल्न सकेको छैन।
यही असमानताविरुद्ध नयाँ पुस्ता अर्थात् जेन–जेड सडकदेखि सामाजिक सञ्जालसम्म आवाज उठाइरहेछ। उनीहरू स्पष्ट भन्छन् — देशले किन अझै प्रत्यक्ष निर्वाचन प्रणाली रोजेन? किन जनताले सीधा प्रधानमन्त्री वा राष्ट्रपति छान्ने अधिकार पाएनन्? यदि यस्तो प्रणाली हुन्थ्यो भने दलगत भागबण्डा र नातावादी कब्जा टुट्थ्यो, नेतृत्व प्रत्यक्ष जनतामुखी बन्थ्यो।
तर, अहिलेको अवस्थाले फेरि पुरानो शैलीलाई बलियो बनाएको छ। संसद दलहरूको खेलमै सीमित छ, योग्यतालाई होइन, नातालाई प्राथमिकता दिइएको छ। यही कारण, सहिदका परिवार अझै प्रश्न गर्छन् — “हाम्रो बलिदानको प्रतिफल के भयो?”
घाइतेहरू अझै उपचार खर्च र सम्मानको लागि भौतारिरहेका छन्। जनताले चाहेको प्रणाली अझै कार्यान्वयन भएको छैन।
अब प्रश्न के हो भने — के हामीले साँच्चै विजयी दशमी पायौं?
दशैंलाई असत्यमाथि सत्यको विजयको पर्व भनिन्छ। तर, हाम्रो यथार्थमा असमानता, अन्याय र नातावाद अझै विजयी छ। सहिदका परिवारका आँसु, घाइतेको पीडा, बेरोजगार युवाको निराशा हेर्दा हामीले पाएको विजय अधुरो देखिन्छ।
यसैले, आज आवश्यक कुरा केवल चाडपर्वको औपचारिक उत्सव होइन, सहिद र घाइतेलाई न्याय, जेन–जेड पुस्तालाई अवसर, र मुलुकलाई प्रत्यक्ष जवाफदेही नेतृत्व दिन सक्ने संरचना हो। जबसम्म यस्तो प्रणाली कार्यान्वयन हुँदैन, हाम्रो दशमी केवल औपचारिक पर्व मात्र रहनेछ, असली विजय होइन।