
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन, ‘यो त देशको बेइज्जती हो’ — युवराज लामा।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन, ‘यो त देशको बेइज्जती हो’ — युवराज लामा
काठमाडौं, जेठ १८ — अभिनेता तथा पूर्व राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव युवराज लामाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्थाप्रति कडा आलोचना गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले विमानस्थल निर्माणमा ठूलो लगानी हुँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु ‘देश विकास होइन, देशको बेइज्जती’ भएको टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ, तर एउटा पनि अन्तर्राष्ट्रिय उडान छैन। त्यसको माथि अझै १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको खबरहरू आउँछन्। हैट्! यो त देश विकास होइन, देशको बेइज्जती हो।”
लामाले प्रश्न उठाएका छन् — यति ठूलो लगानी गरेर निर्माण गरिएको संरचना काम नलाग्ने अवस्थामा पुगेको छ भने त्यसको जिम्मेवारी कसले लिने? साथै उनले जनताको करको पैसाबाट बनेको संरचना प्रयोगविहीन अवस्थामा सड्न दिनु ठूलो अपराध भएको समेत बताएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल करिब २७ अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको थियो। उद्घाटन भएको लामो समय बितिसक्दासमेत कुनै पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउन नसक्नुले विमानस्थलको औचित्यमाथि प्रश्न उठाउन थालिएको छ।
लामाको अभिव्यक्तिले विमानस्थलप्रति चुलिँदो जनआक्रोश र राज्यको उत्तरदायित्वबारे बहस थप चर्काएको देखिन्छ।