बिपिन जोशीलाई भुल्दै सरकार? कूटनीतिक प्रयासको सन्देह।

0
34

हमासको बन्दी बिपिन जोशी अझै गाजामा, नेपालको प्रयास प्रभावहीन?

काठमाडौँ । कञ्चनपुरका कृषि विद्यार्थी बिपिन जोशी अझैपनि हमासको नियन्त्रणमा रहेको गाजामा बन्दी अवस्थामा रहेको पुष्टि भएको छ। इजरायलको किब्बुज आलुमिममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनरत जोशी २०८० असोज २० गते (७ अक्टोबर २०२३) मा भएको हमास आक्रमणपछि सम्पर्कविहीन भएका थिए।

नेपाल सरकारले शुरुदेखि नै बिपिनको उद्धारका लागि कूटनीतिक पहल गरिरहेको भए पनि हालसम्म कुनै ठोस प्रगति भएको छैन। कतार, इजिप्ट र इजरायलसँग निरन्तर संवाद भएपनि हमासले बिपिनको अवस्थाबारे कुनै आधिकारिक जानकारी नदिएको बताइएको छ।

बिपिनको परिवारको पीडा दिनानुदिन बढ्दै गएको छ। परिवारले पटक–पटक सरकारसँग प्रभावकारी पहल गर्न आग्रह गर्दै आएका छन्। नेपाल सरकारले कतार सरकारलाई विशेष आग्रह गरेपनि हमासले वार्ताका लागि प्रस्तुत नामावलीमा बिपिनलाई समावेश नगरिएको स्रोतहरू बताउँछन्।

बिशेष गरी इजरायल–हमासबीच भएका युद्धविराम प्रयासहरूमा बिपिनको नाम अटाउन नसक्नु चिन्ताजनक विषय बनेको छ। गत वर्ष केही सञ्चार माध्यमहरूमा “बिपिन चाँडै फर्कन्छन्” भन्ने समाचार आएपनि त्यस्ता दाबी पुष्टि नभएको जनाइएको छ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले बिपिनको अवस्थाबारे चासो व्यक्त गर्दै आइरहेको भएपनि मानवअधिकारवादी संगठनहरूले अझ कडा दबाब दिनुपर्ने बताइरहेका छन्।

यसबीच, भारतको “अपरेसन सिन्धु” अन्तर्गत इरान र इजरायल क्षेत्रमा अलपत्र परेका विदेशी नागरिकहरूको उद्धार जारी रहे पनि बिपिन जोशीको सम्बन्धमा कुनै कारगर पहल भएको देखिँदैन। नेपालले भारतसँग पनि समन्वय गरिरहेको बताइएको छ, तर गाजामा सीधै पुग्न सक्ने देशसँगको सम्बन्ध अझ बलियो बनाउनु पर्ने माग सर्वत्र उठेको छ।

बिपिन जोशीको जीवन रक्षा र स्वदेश फिर्तीका लागि सम्पूर्ण नेपाली समाज एकजुट हुन जरुरी भएको भन्दै नागरिक तहबाट पनि दबाब अभियान चलाउने तयारी थालिएको छ।

 

LEAVE A REPLY