
बी.बी. थापाको ‘गजल एक से एक’ सार्वजनिक।


बी.बी. थापाको ‘गजल एक से एक’ सार्वजनिक
काठमाडौं राजन थापा— नेपाली गजल साहित्यका अग्रज स्रष्टा बी.बी. थापाको नवीनतम गजल–सङ्ग्रह ‘गजल एक से एक’ हालै सार्वजनिक गरिएको छ। ‘आसक्ति’ (गीति–सङ्ग्रह) र ‘दिल एक धड्कन अनेक’ (गजल–सङ्ग्रह) जस्ता कृतिपछि आएको यो नयाँ गजल–सङ्ग्रहलाई उनको सिर्जनात्मक यात्राको नयाँ शिखरका रूपमा लिइएको छ।
वि.सं. २०७६ मा एकैपटक २७ गीति–एल्बम सार्वजनिक गरी विश्व कीर्तिमान राखेका थापा गीतकार र गजलकार दुवै रूपमा चर्चित छन्। उनका गीतहरूलाई सयौँ चर्चित सङ्गीतकारहरूले संगीत दिएका छन् र प्रायः सबै लोकप्रिय गायक–गायिकाले स्वर दिएका छन्।
‘गजल एक से एक’ ले प्रेम–विछोड, पीडा–सन्तोष, देश–परदेश, आशा–निराशा, आरोह–अवरोह जस्ता भावनात्मक तहलाई समेटेको छ। संग्रहभित्रका गजलहरूमा अपूर्ण प्रेमको पीडा, आत्मसन्तोष, समाजको विडम्बना र जीवनको कठोर यथार्थ समेत झल्किएको छ।
थापाका गजलमा छन्दीय शुद्धता, मतला, मकता, रदिफ, काफिया, बहर, सेर र तखल्लुसको सुन्दर प्रयोग पाइन्छ। शब्द र स्वरबीचको सम्बन्धलाई दार्शनिक ढङ्गमा प्रस्तुत गर्ने उनका पंक्तिहरू, आध्यात्मिक चेत र बेपरवाह अभिव्यक्तिले पनि पाठकलाई आकर्षित गर्छ।
साहित्य–अनुरागीहरूले ‘गजल एक से एक’ लाई नेपाली गजल परम्परामा महत्वपूर्ण मीलको पत्थरको रूपमा मूल्याङ्कन गरेका छन्।