भ्रष्टाचारविरुद्ध लड्दा विचारको घेरा च्यातिन थाल्यो” — सांसद सुदन किराँती।

0
20

“भ्रष्टाचारविरुद्ध लड्दा विचारको घेरा च्यातिन थाल्यो” — सांसद सुदन किराँती

धनकुटा, जेठ १७ — नेकपा माओवादी केन्द्रका नेता तथा संघीय सांसद सुदन किराँतीले वर्तमान राजनीतिक परिवेशमा माओवादी आन्दोलन गम्भीर द्विविधामा परेको टिप्पणी गरेका छन्। धनकुटाको छथर गाउँपालिकामा आयोजित पार्टी अधिवेशनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्धको संघर्षमा पार्टीले विचार र सहयात्रीबीचको गहिरो द्वन्द्व भोग्नुपरेको बताए।

किराँतीका अनुसार, संसदभित्र भ्रष्टाचारको विरुद्ध उभिँदा कहिलेकाहीं राजतन्त्रको पक्षपाती दलहरूसँग सहकार्य गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ, जुन माओवादीका लागि अत्यन्तै पीडादायी अवस्था हो। “भ्रष्टाचारको विरोध गर्दा राजावादीहरूसँगै उभिनुपर्दा मन खिन्न हुन्छ,” उनले भने, “तर त्यही राजावादीहरूको विरोध गर्दा भ्रष्टाचारमा मुछिएका शक्तिसँग उभिनुपर्दा त्यो अझै दुःखद् हुन्छ।”

उनले माओवादी आन्दोलनलाई हाल ‘खुकुरीको धारमा हिँडिरहेको’ अवस्थामा रहेको उल्लेख गर्दै राजनीतिक र नैतिक संकटबाट पार पाउनका लागि नयाँ मार्ग खोज्नुपर्नेमा जोड दिए। “हामी गणतन्त्रका जन्मदाता हौं, तर भ्रष्टाचार हाम्रो स्पष्ट शत्रु हो। त्यसैले हामी न त भ्रष्टाचार सहन सक्छौं, न त विचार बेच्न,” किराँतीले प्रस्ट पारे।

कार्यक्रममा फरक प्रसंगमा बोल्दै उनले माओवादी अब स्वतन्त्र पहिचानसहितको स्पष्ट विचार र नेतृत्वको बाटोमा उभिनुपर्ने धारणा राखे। “हामी अरुको टेकिने भरमा होइन, आफ्नै खुट्टामा उभिनुपर्छ। फेरि एकपटक जनगणतन्त्रका पक्षमा सशक्त रूपमा गर्जिनुपर्छ,” उनले भने, “त्यसका लागि भ्रष्टाचारको भण्डाफोर निरन्तर रूपमा गर्दै जानुपर्छ।”

किराँतीको अभिव्यक्ति माओवादीभित्र विचार, रणनीति र सहकार्यबारेको बहस पुनः सतहमा आएको संकेतका रूपमा लिइएको छ। सत्ता–साझेदारी र आन्तरिक मूल्य–मान्यताबीचको द्वन्द्व माओवादी नेताहरूको सार्वजनिक मन्तव्यमा खुल्न थालेको देखिन्छ।

LEAVE A REPLY