रमाइलो पाठशाला जरङ्कुमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न।

0
20

रमाइलो पाठशाला जरङ्कुमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

– दिनेश लामिछाने 

जेठ ११, काठमाडौं
“अध्ययन केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन” भन्ने उद्देश्यका साथ तारकेश्वर नगरपालिका–८, जरङ्कुमा अवस्थित रमाइलो पाठशालाले आफ्ना विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य तथा दन्त परीक्षण शिविरको आयोजना गरेको छ।

शरीर स्वस्थ हुन मुखको स्वच्छता अनिवार्य हुने मान्यताका आधारमा, पाठशालाले ॐ समाज डेन्टल अस्पतालको सहकार्यमा जेठ ४ गते विद्यार्थीहरूको स्वास्थ्य परीक्षण तथा दन्त शिविर सम्पन्न गरेको हो।

पाठशालाका प्रधानाध्यापक बेदराज घिमिरेका अनुसार, उक्त दिन ७ सयभन्दा बढी विद्यार्थीहरूको निःशुल्क परीक्षण गरिएको थियो।

गुणस्तरीय शिक्षासँगै समग्र व्यक्तित्व विकासमा केन्द्रित यस विद्यालयले, अनुभवी शिक्षकमार्फत आधुनिक पठनपाठन गराउँदै आइरहेको छ। वि.सं. २०७२ मा स्थापना भएको रमाइलो पाठशाला हाल अभिभावकहरूको पहिलो रोजाइ बन्न सफल भएको छ।

विद्यालयको नाम “रमाइलो पाठशाला” नै भएकोले पनि यहाँको शिक्षण विधिमा नवीन ऊर्जा, सकारात्मक सोचउज्ज्वल भविष्यको आशा झल्किन्छ। प्रारम्भिकदेखि माध्यमिक तहसम्मको अध्ययन हुने यस विद्यालयमा विद्यार्थीहरूको उल्लेख्य चाप रहेको सहायक प्रधानाध्यापक मधु सापकोटा बताउँछन्।

बालमनोविज्ञान बुझ्ने योग्य शिक्षकहरूको छनोट र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादनका कारण, विद्यालयमा छोटो अवधिमा भर्ना खुलाउनुपर्ने अवस्था आउने गरेको छ।

शिक्षक तालिम, कम शुल्क, राम्रो नतिजा जस्ता कारणले विद्यालयप्रति अभिभावकहरूको आकर्षण बढेको अभिभावक दिलकुमार श्रेष्ठ बताउँछन्।

स्वास्थ्य परीक्षण क्रमलाई निरन्तरता दिँदै, विद्यालयले जेठ ४ र ११ गते दुई चरणमा स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ। परीक्षणमा ॐ समाज डेन्टल अस्पताल वनस्थली शाखा प्रमुख सविना पपनको नेतृत्वमा दन्त विशेषज्ञ डा. गौरी श्रेष्ठ, डा. वर्षा कार्की, डा. उषा र दन्त सहायक जुनु पण्डित सहभागी थिए।

दाँतसम्बन्धी समस्याहरू प्रायः विद्यार्थीहरूमा देखिएको हुँदा, विद्यालय र अस्पतालबीच स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता गरिएको हो।

यस्तै, किर्तिपुर आँखा अस्पतालका विशाल थापाको नेतृत्वमा आँखाको परीक्षण पनि गरिएको थियो।

शिविरपश्चात् रमाइलो पाठशाला र ॐ समाज डेन्टल अस्पतालबीच समझदारीपत्र (MOU) हस्ताक्षर भएको छ। सम्झौताअनुसार, विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक-कर्मचारी र तिनका परिवारलाई दन्त उपचारमा २०% छुट तथा दन्त मुकुट निर्माणमा १५% छुट दिइनेछ।

विद्यालयका तर्फबाट प्रधानाध्यापक बेदराज घिमिरे र अस्पतालका तर्फबाट सविना पपनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

शिविरको समापन कार्यक्रममा, डा. गौरी श्रेष्ठ, डा. वर्षा कार्की, डा. उषा, सविना पपन, जुनु पण्डित, पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा र जयराम बिडारीलाई सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा सविना पपनले विद्यार्थीहरूलाई दन्त सुरक्षासम्बन्धी प्रशिक्षण पनि दिएकी थिइन्।

शिविरको उद्घाटन तारकेश्वर–६० का अध्यक्ष राजन थापाले गरेका थिए। उनले सम्झौताबाट सम्पूर्ण विद्यार्थी र अभिभावक लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।

 

LEAVE A REPLY