
राजतन्त्र ल्याउने नाममा नाटक चल्दैछ, ३ करोड जनताको निर्णयबिना फेरबदल सम्भव छैन” — युवराज सफल।


“राजतन्त्र ल्याउने नाममा नाटक चल्दैछ, ३ करोड जनताको निर्णयबिना फेरबदल सम्भव छैन” — युवराज सफल।
काठमाडौं, जेठ ३१ — सामाजिक अभियन्ता युवराज सफलले हालको राजतन्त्र पुनःस्थापनासम्बन्धी बहसलाई ‘भावनात्मक भ्रामकता’ भन्दै तीव्र आलोचना गरेका छन्। टिभी टूडेको अन्तर्वार्तामा बोल्दै सफलले राजतन्त्र जस्तो गम्भीर संरचना परिवर्तनका विषयलाई गम्भीर ऐतिहासिक समीक्षा, जनमत र औपचारिक प्रक्रियाबाट मात्र अघि बढाउन सकिने बताएका छन्।
उनले कटाक्ष गर्दै भने,
“ज्ञानेन्द्र शाह आफ्नै दाजुको वंश नाश हुँदा दरबार हत्याकाण्डमा न उजुरी दिन सके, न छानबिन गराउन सके। उनले न्याय दिन्छन् भन्ने कुरा हास्यास्पद हो।”
राजतन्त्रको पक्षमा उठेका पछिल्ला स्वरहरूप्रति सन्देह व्यक्त गर्दै उनले प्रश्न गरे,
“ज्ञानेन्द्र शाह त व्यापारी भए, करोडौं खाएर पनि कमल थापाले राजतन्त्र फर्काउन सकेनन्, राजेन्द्र लिंदेनले पनि सकेनन्। अनि भारतीय सेनाको हतियार अडिटरले (ज्ञानेन्द्र शाही) राजा फर्काउँछन् भन्ने कथालाई कसरी पत्याउने?”
उनले थपे,
“राजेन्द्र लिंदेनजस्तो गणतान्त्रिक सरकारको उपप्रधानमन्त्री भएर बस्ने र फेरि राजतन्त्र ल्याउने सपना देख्नेको नीयतमै प्रश्न उठ्छ।”
युवराज सफलले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम पनि उल्लेख गर्दै भने,
“मेडिकल सम्बोधन नपाएर भट्किएका आत्माहरूको सहारामा राजतन्त्र ल्याउने सपना देखिँदैछ।”
उनले प्रचण्ड र केपी शर्मा ओलीजस्ता नेताहरूप्रति पनि संकेत गर्दै हालको असन्तोषलाई राजतन्त्रको पक्षमा मोड्ने प्रयासलाई ‘जनतालाई मूर्ख बनाउने दुस्साहस’ भनेका छन्।
सबैभन्दा महत्वपूर्ण कुरा उल्लेख गर्दै उनले भने,
“नेपालमा ३ करोड नेपाली जनताले राजतन्त्र चाहिन्छ भनेर स्पष्ट जनमत प्रकट नगरेसम्म त्यो व्यवस्था फर्कन सक्दैन।”
उनको धारणा अनुसार मुलुकको राजनीतिक मार्ग जनताको निर्णयले तय हुन्छ, व्यक्तिको मनोभावनाले होइन।
सफलको अभिव्यक्तिले वर्तमान राजनीतिक द्विविधा र अस्थिरताको पृष्ठभूमिमा गम्भीर बहस जन्माएको छ। सामाजिक सञ्जालदेखि बौद्धिक वृत्तसम्म यस बयानले नयाँ बहसको द्वार खोलेको छ।