
‘व्हाइट गुम्बा’ अस्थायी रूपमा बन्द, भीड र भ्रमपूर्ण सूचनाले बढायो चिन्ता।


काठमाडौँ — काठमाडौँको प्रख्यात धार्मिक स्थल ‘व्हाइट गुम्बा’ (ड्रक अमिताभ पर्वत) आइतबारदेखि अस्थायी रूपमा बन्द गरिने भएको छ। गुम्बा प्रशासनले अत्यधिक भीड, गर्मीका कारण देखिएको स्वास्थ्य समस्या तथा सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण सूचनाका कारण यस्तो निर्णय लिएको जानकारी दिएको छ।
शनिबार जारी गरिएको सूचनामा गुम्बा प्रशासनले जेठ ३ गतेदेखि सञ्चालनमा आएको ‘१०० मिलियन अमिताभ बुद्ध मन्त्र जप’ कार्यक्रममा सहभागीको संख्यामा अत्यधिक वृद्धि भएको उल्लेख गरेको छ। यही कारणले शनिबार गुम्बा परिसरमा अभूतपूर्व भीड देखिएको थियो।
प्रशासनले विशेष गरी सामाजिक सञ्जाल, विशेषतः टिकटकमार्फत फैलाइएका गलत र भ्रामक जानकारीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
“ध्यान तान्ने, मनोरञ्जन वा भाइरल हुने उद्देश्यले बनाइएका सामग्रीहरूका गम्भीर परिणामहरूबारे पोस्ट गर्नेहरूलाई कुनै आँकलन छैन,” गुम्बाको सूचनामा भनिएको छ।
गुम्बाले जनस्वास्थ्य, सुरक्षा र आध्यात्मिक अनुशासनलाई मुख्य प्राथमिकतामा राख्दै यो अस्थायी बन्दको निर्णय लिएको जनाएको छ।
“तपाईंहरूको समझदारी र सहकार्यप्रति हामी आभारी छौं। सुरक्षित र व्यवस्थित वातावरणमा पुनः भेट्ने आशा राख्दछौं,” गुम्बाको सूचनामा उल्लेख गरिएको छ।
‘व्हाइट गुम्बा’ बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल हो, जसले नेपालभित्र मात्र नभई विदेशका सयौं साधक र ध्यान प्रेमीहरूलाई पनि आकर्षित गर्दै आएको छ।