सामाजिक सञ्जाल बन्द निर्णय गलत : मेयर रेणु दाहाल”।

0
11

“सामाजिक सञ्जाल बन्द निर्णय गलत : मेयर रेणु दाहाल”

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सरकारको हालैको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असन्तोष व्यक्त गर्दै तत्काल पुनर्विचार गर्न आग्रह गरेकी छिन्। उनले नियन्त्रण होइन, प्रभावकारी नियमन गर्नुपर्ने बताएकी छन्।

दाहालका अनुसार सामाजिक सञ्जाल आजको युगमा सूचना र संचारको प्रमुख माध्यम बनेको छ। यस्तो अवस्थामा सरकारले बन्देज गर्ने निर्णय लिनु अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको प्रत्यक्ष उल्लङ्घन हो। “नियमन गर्न जरुरी छ तर नियन्त्रण हैन। सामाजिक सञ्जालसम्बन्धी विधेयक अहिले राष्ट्रिय सभामा अल्झिएको छ। त्यसलाई छिट्टै निष्कर्षमा पु¥याई उपयुक्त कानुन बनाउनुपर्ने हो,” दाहालले भनिन्।

उनले जोड दिँदै भनिन्, “प्रविधिको यो युगमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु भनेको लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउनु हो। नागरिकलाई आवाजविहीन बनाउने प्रयास कहिल्यै सफल हुँदैन।”

सामाजिक सञ्जालबारे तयार गरिएको विधेयक लामो समयदेखि संसदमा अड्किएको छ। विशेषज्ञहरूले समेत विधेयकलाई संशोधन गरेर स्वतन्त्रता र जिम्मेवारीबीच सन्तुलन कायम गर्ने खालको कानुन बनाउन सुझाव दिँदै आएका छन्। तर विधेयकलाई छिटो निष्कर्षमा पुर्‍याउनुभन्दा सरकारले प्रत्यक्ष बन्देज लगाउने निर्णय गरेको भन्दै मेयर दाहालले गम्भीर चिन्ता व्यक्त गरेकी छिन्।

उनको भनाइमा, लोकतन्त्र भनेको नागरिकको आवाज सुन्ने अभ्यास हो, आवाज दबाउने होइन। यसै सन्दर्भमा उनले सरकारलाई आफ्नै निर्णयमा पुनर्विचार गरेर लोकतान्त्रिक मूल्यप्रति सम्मान जनाउन आग्रह गरिन्।

राजनीतिक विश्लेषकहरूले पनि दाहालको अभिव्यक्तिलाई समर्थन गर्दै सरकारले समावेशी छलफल, नागरिक सहभागिता र कानुनी आधारमा मात्रै नीति बनाउनुपर्ने सुझाव दिएका छन्। सामाजिक सञ्जाललाई दुरुपयोग हुन नदिने उपाय खोज्नुपर्ने तर पूर्ण प्रतिबन्ध समाधान नहुने उनीहरूको तर्क छ।

मेयर दाहालको ताजा अभिव्यक्ति चितवन मात्र होइन, देशभर चर्चाको विषय बनेको छ। सामाजिक सञ्जाल प्रयोगकर्तादेखि सञ्चार क्षेत्रसम्म उनको वक्तव्यलाई सरकारप्रति लोकतान्त्रिक चेतावनीका रूपमा लिइएको छ।


 

LEAVE A REPLY