
सार्वजनिक यातायात व्यवसायीको अनिश्चितकालीन बन्द घोषणा, ग्यारेजमै सवारी थन्क्याउने निर्णय।


सार्वजनिक यातायात व्यवसायीको अनिश्चितकालीन बन्द घोषणा, ग्यारेजमै सवारी थन्क्याउने निर्णय
काठमाडौँ, जेठ १८ – सार्वजनिक यातायात व्यवसायीहरू सोमबारदेखि देशव्यापी रूपमा अनिश्चितकालीन सवारी सेवा बन्द गर्ने तयारीमा छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नेतृत्वमा लिइएको निर्णयअनुसार सोमबारदेखि सवारी साधनहरू ग्यारेज र घरमै थन्क्याइने भएको हो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिएअनुसार गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नयाँ नियमावलीको विरोधमा आन्दोलन घोषणा गरिएको हो। सो नियमावलीले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिएका निजी सवारी साधनहरूलाई व्यावसायिक भाडा सवारीसरह सञ्चालन गर्न दिने व्यवस्था गरेको भन्दै व्यवसायीहरूले त्यसको खारेजी माग गरेका छन्।
सम्बन्धित सरकारी निकायमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिन बाध्य भएको राईले बताए।
यसैबीच, संघर्ष समितिद्वारा आइतबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “गण्डकी प्रदेश सरकारको एकपक्षीय निर्णयले सार्वजनिक यातायात क्षेत्र नै संकटमा पार्ने खतरा देखिएको छ। बन्दबाट पर्न सक्ने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारकै हुनेछ।”
विज्ञप्तिमा आम नागरिक, मजदुर, कर्मचारी, र सेवाग्राहीहरूसमक्ष आन्दोलनप्रति सहयोग र समर्थन गर्न अपिल गरिएको छ। समितिले सार्वजनिक यातायात जोगाउन सरोकारवाला निकायहरूलाई तत्काल गम्भीर ध्यान दिन समेत अनुरोध गरेको छ।