
शाही दरबारको रात : एक राष्ट्रका सपना रगतले नुहाए।


शाही दरबारको रात : एक राष्ट्रका सपना रगतले नुहाए
काठमाडौं, १ जुन २०२५ – सन् २००१ को जेठ १९ गतेको रात, नेपाली इतिहासको एउटा कालो पानामा गहिरो छाप बनेर बसेको छ – शाही दरबार हत्याकाण्ड। त्यो एक रातले नेपालको राजनैतिक, सामाजिक र भावनात्मक संरचना नै हल्लाइदियो। देशभरिका नागरिकहरू एकाएक स्तब्ध भए, आँसु बगाए र उत्तर खोज्न थाले – दरबारभित्र के भयो?
त्यस रात नारायणहिटी दरबारभित्र आयोजित साप्ताहिक पारिवारिक भोज, अचानक रक्तरञ्जित त्रासमा परिणत भयो। तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र लगायत राजपरिवारका धेरै सदस्यहरू मारिए। घटनामा संलग्न भएको आरोप युवराज दीपेन्द्रमाथि लगाइयो, तर जीवित बचेका थोरै पात्र र घटनाको अप्रत्यक्ष प्रकृति आजसम्म पनि रहस्यमय छ
न त स्पष्ट जवाफ, न त निस्कर्षको भरोसा।
सरकारी छानबिनले घटनालाई “पारिवारिक विवाद” को रूपमा निष्कर्ष निकालेको भए पनि आमजनमानसमा त्यो स्वीकार्य देखिएन। अनेकौँ सवालहरू आज पनि अनुत्तरित छन् – दरबारको सुरक्षातन्त्र किन विफल भयो? यति संवेदनशील स्थानमा यस्तो विनाशकारी घटना कसरी सम्भव भयो?
राजतन्त्रको सुरुङ यात्रा सुरु भयो त्यही रातबाट
यो घटनाले मात्र राजा वीरेन्द्रको शासन अन्त्य गरेन, नेपालमा राजतन्त्रको नै विश्वसनीयता गुम्न थाल्यो। जनआन्दोलन, लोकतान्त्रिक संक्रमण र गणतन्त्रको मार्ग यसै घटनाको अवशेषमा निर्माण भयो।
आज पनि दरबारभित्रको त्यो रात, स्मृतिमा एक पीडा बनेर बाँचेको छ
आज दुई दशकभन्दा बढी समय बितिसकेको छ, तर दरबार हत्याकाण्डबारेको चर्चा, अनुसन्धान र शंका अझै मरेको छैन। हरेक वर्ष जेठ १९ नजिकिँदा, राष्ट्रको मस्तिष्कमा फेरि एउटा प्रश्न घुम्न थाल्छ – के हामीले सत्य पाएका छौँ?