विष्णुमतीको बाढीले डेढ किलोमिटर बगायो कारमा सवार महिलाको सकुशल उद्धार

0
28

विष्णुमती खोलाले बगायो कार, एक महिला सकुशल उद्धार

काठमाडौँ —  बुधबार   राति काठमाडौँको ग्राण्डी अस्पताल नजिकै एक कार विष्णुमती खोलामा खस्दै बगिएको छ। करिब डेढ किलोमिटर दूरीसम्म बगेको उक्त कारमा सवार एक महिला सकुशल उद्धार भएकी छन्।

राति करिब १० बजेको समयमा सडक छेउबाट चिप्लिएर कार खोलामा खसेपछि बाढीको बहावसँगै कार बानियाटारसम्म पुगेको हो। कारमा सवार भावना वली नामकी ३४ वर्षीया महिला दुर्घटनामा परेकी थिइन्। उनी दाङकी स्थायी बासिन्दा हुन् भने हाल टोखामा बसोबास गर्दै आइरहेकी छन्।

दुर्घटनापछि उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो। प्रहरी वृत्त महाराजगन्जका डिएसपी निरञ्जन थापा र ट्राफिक प्रहरीको समन्वयमा महिला सकुशल बाहिर निकालिएको हो। हाल उनलाई बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।

उक्त कार कञ्चनपुर घर भई हाल धुम्बाराहीमा बसोबास गर्ने ३५ वर्षीय अङ्कुश सिंहले चलाएका थिए। घटनाका बेला उनी सुरक्षितरूपमा गाडीबाट निस्कन सफल भएका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार कारले अर्काे भाडाका सवारीलाई बाटो दिँदै गर्दा सडकको किनारमा रहेको माटो भासिएर सिधै खोलामा खसेको जनाइएको छ।

यस घटनाले राजधानीका सडक तथा नाला आसपासका संरचनाको जोखिमप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी वर्षात्को समयसँगै सतर्कता अपनाउन सुरक्षा निकायले सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।

 

LEAVE A REPLY