नुवाकोट पञ्चकन्या गाउँपालिकाका बासिन्दाहरूका लागि सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण सेवा काठमाडौंमा सुरु।

0
7

नुवाकोट पञ्चकन्या गाउँपालिकाका बासिन्दाहरूका लागि सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण सेवा काठमाडौंमा सुरु

काठमाडौं–नुवाकोट जिल्ला, पञ्चकन्या गाउँपालिका अन्तर्गत वडा नं. १, २, ३ र ४ का बासिन्दाहरूका लागि सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण सेवा आज (भाद्र १५) बाट १७ सम्म काठमाडौंमा तीन दिनसम्म सञ्चालन भइरहेको छ।

यो सेवा विशेषगरी नुवाकोटबाट काठमाडौंमा अस्थायी बसोवास गरिरहेका नागरिकहरूको सुविधा सुनिश्चित गर्नको लागि व्यवस्था गरिएको हो। वर्षातको समयमा गाउँसम्म पुग्न कठिनाइ हुने भएकाले, जेष्ठ नागरिक, एकल महिला, अपांग र अन्य असहाय नागरिकलाई सहजता पुर्याउने उद्देश्यले बालाजु गुम्बा नजिक रहेको अनुपमद्रार पाटी प्यालेसमा सेवा दिइएको छ।

वडा नं. ३ का अध्यक्ष रामबाबु पराजुलीले तादी मिडियालाई जानकारी दिँदै बताए, “यो सेवा गाउँपालिकाका बासिन्दाहरूलाई सरकारी सुविधा सहजै पुग्ने गरी बनाइएको हो। धेरैजसो सेवाग्राहीहरू काठमाडौं, बालाजु, नेपालटार, तारकेश्वर, टोखा, बुढानिलकण्ठ, कलंकी, गगोबु, सामाकोशी, लोलाङ, काभ्रेस्थली, धर्मस्थली र जरंखु बसोबास गर्छन्। उनीहरूलाई नवीकरणका लागि बारम्बार गाउँ जानुपर्थ्यो, अब काठमाडौंमै सुविधा मिलेको छ। यो प्रयासले नागरिकको समय, श्रम र यात्रा कठिनाइ कम गर्नेछ।”

तीन दिनसम्म चल्ने यो नवीकरण सेवा स्थानीय बासिन्दाको जीवनलाई सहज बनाउने, सामाजिक सुरक्षा भत्ताको पहुँच पारदर्शी बनाउने र नागरिकको अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण कदम मानिएको छ। सेवाग्राहीहरूले पनि यो पहलको प्रशंसा गरेका छन् र काठमाडौंमै सुविधा पाउँदा सहज भएको अनुभव व्यक्त गरेका छन्।


 

LEAVE A REPLY