
इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा आक्रमण, दोहामा विस्फोटको आवाज, नेपाली समुदाय चिन्तित।


इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा आक्रमण, दोहामा विस्फोटको आवाज, नेपाली समुदाय चिन्तित
इरानले कतारमा अवस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गरेको दाबी गरेको छ। इरानको सरकारी टेलिभिजनका अनुसार इरानको रिभोलुसनरी गार्ड्सले कतारस्थित अल उदेइद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ।
कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिएको र आकाशमा ज्वाला देखिएको अल जजिरा टेलिभिजनले उल्लेख गरेको छ। विस्फोटको कारण दोहामा केही समय सन्त्रासको वातावरण सिर्जना भएको थियो।
कतारी रक्षा मन्त्रालयले भने यस आक्रमणबाट कुनै मानवीय क्षति नभएको बताएको छ। हालसम्म अमेरिकी पक्षले विस्तृत प्रतिक्रिया दिएको छैन।
यस्तै घटनाले कतारमा बसोबास गरिरहेका नेपाली समुदायमा पनि चिन्ता थपिएको छ। हाल कतारमा करिब ४ लाख नेपाली श्रमिक कार्यरत छन्, जो निर्माण, सेवा, र सुरक्षासम्बन्धी क्षेत्रहरूमा सक्रिय छन्। दोहा आसपासकै क्षेत्रमा धेरै नेपालीको बसोबास रहेको हुँदा यस्तो सैन्य तनावले उनीहरूमा मानसिक त्रास सिर्जना गरेको छ।
वर्तमान तनावपूर्ण परिस्थितिमा कतारस्थित नेपाली दूतावास र सम्बन्धित निकायले श्रमिकको सुरक्षालाई प्राथमिकता दिनुपर्ने विज्ञहरूको सुझाव छ। साथै, इरान–इजरायल तनावको प्रत्यक्ष असर खाडी क्षेत्रमा रहेका अन्य नेपाली कामदारमा समेत पर्न सक्ने अनुमान गरिएको छ।