
गायिका रचना रिमाल आकस्मिक बिरामी, काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना।


गायिका रचना रिमाल आकस्मिक बिरामी, काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना
काठमाडौं, जेठ २७
लोकप्रिय गायिका रचना रिमाल आकस्मिक रूपमा बिरामी परेकी छन्। सांगीतिक कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी रिमालको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।
स्रोतका अनुसार रिमाललाई पेट दुख्ने समस्या देखिएपछि अवस्था गम्भीर बन्दै गएको थियो। तत्काल उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई रुकुम पश्चिमबाट सुर्खेत हुँदै नेपालगञ्ज लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि मंगलबार बिहानै काठमाडौं ल्याइएको हो।
गायिका रिमाल सोमबार मात्रै रुकुम पुगेकी थिइन्। उनी रुकुम पश्चिमको सानिभेरी गाउँपालिका, बेलटापुमा सञ्चालन भइरहेको एक सांगीतिक महोत्सवमा मंगलबार प्रस्तुति दिन लागेकी थिइन्। तर स्वास्थ्य अवस्था बिग्रिएपछि कार्यक्रम रद्द गरिएको आयोजकले जनाएका छन्।
हाल गायिका रिमालको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतको भनाइ छ।