
एलिनाको मिडियाप्रति आक्रोश: नाम जोड्नु गलत।


काठमाडौं, २४ कात्तिक २०८२ – लोकप्रिय गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत मिडियामा आफ्नो नाम जोडिएपछि आपत्ति जनाएकी छन्।
उनले स्पष्ट पारिन् कि उनका पुराना सम्बन्ध र हालसालैको परियोजनासँग उनको कुनै सम्बन्ध छैन। एलिनाले भनिन्, “मेरो सकिसकेको सम्बन्धलाई कोट्याउने पत्रकारहरूका लागि घाउ त बाँदरले कोट्याउँछ, मान्छे भइसकेपछि बाँदरजस्तो एउटै कुरा नकोट्याउनुस। मेरो नाम किन लेख्नुपर्यो? गीतसँग मेरो कुनै सम्बन्ध छैन।”
हालै बिष्णु सापकोटा र मिस पबिको नयाँ गीतको भिडियो सार्वजनिक भएपछि केही मिडियाले एलिनाको नाम पनि जोड्दा उनले उक्त भिडियोमै कमेन्टमार्फत आपत्ति जनाएकी हुन्। उनका अनुसार, व्यक्तिगत जीवन र पेशागत परियोजनालाई मिक्स गर्नु गलत हो र यसले मानिसको प्रतिष्ठामा असर पुर्याउन सक्छ।
सामाजिक सञ्जालमा उनका प्रशंसकहरूले पनि उनको समर्थन गर्दै, मिडियाले विवेकपूर्ण रिपोर्टिङ गर्नु पर्ने र कलाकारको व्यक्तिगत जीवनको सम्मान आवश्यक रहेको उल्लेख गरेका छन्। एलिनाको प्रतिक्रिया अहिले व्यापक रूपमा चर्चा भइरहेको छ।











