
नेता भन्नेहरुका कारण नुवाकोटको बिकास अलपत्र; अभियान्ताको गम्भीर आरोप ।


नुवाकोटमा दशकौँदेखि अधुरा विकासका योजनाहरू पूरा नहुदा नुवाकोट मोडलका सामाजिक अभियान्ता राजन गौतम( नकुल) र सचेत नागरिक अभियनका अधिबक्ता रामेश्वर भण्डारीले निरन्तर खबरदारी गराउदै आएका छन। 
स्थानीयवासीको आक्रोश चरम उत्कर्षमा पुगेको खानेपानी, सडक तथा शिक्षा जस्ता आधारभूत संरचनामा देखिएको दीर्घकालिन योजनाको बेवास्ता गर्नेहरु बिरुद्ध एकजुट भएर उठ्न सामाजिक अभियान्ततहरुुले हार्दिक अपिल गरेका हुन्। जनताको धैर्यताको बाध फुटेको र यसलाई सामान्य र हल्का रुपमा नलिन उनीहरूले कडा चेेताउनी दिएका हुन् ।

बिगत तीन दशक अघि पञ्चायतकालबाट थालनी गरिएको ड्वाचे खानेपानी आयोजना यति लामो समय बित्दा पनि पूर्णरूपमा सम्पन्न हुन नसक्दा स्थानीयले नेताहरूको क्षमतामाथि नै प्रश्न उठाउन थालेका छन्। सम्भाव्यता अध्ययनदेखि बजेट विनियोजनसम्म कागजी प्रगति धेरै देखिए पनि व्यवहारमा भने घर–घरमा पानीको नल अझै सुक्खै छ। नेतृत्व फेरिए, सरकार फेरिए, धेरै मन्त्री आए–गए, तर खानेपानीको स्थायी समाधान भने अझै टाढै रहेको छ। स्थानीयवासी अब ठाडै प्रश्न गर्दैछन्— “कहिले आउँछ हाम्रो घरमा पानी? किन दशकौँदेखि हामी प्रतीक्षामै?” जनआक्रोश दिनानुदिन बढ्देै गइरहेको देखिन्छ ।

यता नुवाकोट–धादिङ वैकल्पिक राजमार्ग पनि स्थानीयका लागि आशाको ज्योतिनै बनेको थियो। ओखरपौवा, ढोकाभञ्ज्याङ, चाउथे, कुमारी, रूपिङ, जलजले हुँदै कोल्पुटारसम्म जोडिने यो मार्ग विकसित भए नुवाकोटको दक्षिणी भेग तथा धादिङको उत्तरी क्षेत्र आर्थिक रुपमा रूपान्तरण हुने अपेक्षा थियो। तर राजनीतिक उदासिनता, कागजी प्रक्रियाको ढिलाइ र नेताहरूको स्वार्थका कारण दशकौँदेखि यो योजना फाइलमै थन्किएको छ। अधिवक्ता रामेश्वर भण्डारीको भनाइमा— “यो वैकल्पिक मार्ग समयमै निर्माण भएको भए स्थानीयले सहज यातायात, व्यापारिक अवसर र पर्यटन विकासमा ठूलो फाइदा पाउने थिए। नागढुङ्गाको जाम घट्ने मात्र होइन, हजारौँ जनाले रोजगारी पाउने अवसरसमेत सिर्जना हुने थियो।” तर योजना भने आज पनि अनिश्चितताको अँध्यारोमा छ।


शिक्षा क्षेत्रको कमजोरीलाई पनि नुवाकोट विकास अवरुद्ध हुनुको मूल कारणका रूपमा प्रस्तुत गरिएको छ। नुवाकोट मोडलका सामाजिक अभियन्ता राजन गौतमका अनुसार— “नुवाकोटको पछाडि पर्नुमा सबैभन्दा ठूलो समस्या सामुदायिक विद्यालयको कमजोर गुणस्तर हो। १२ स्थानिय तहले शिक्षा सुधारलाई प्राथमिकतामा नराखेपछि जनशक्ति विकास नै सुस्त भयो, जसले दीर्घकालीन विकास अवरुद्ध गरिरहेको छ।” उनका अनुसार, विद्यालयमा पूर्वाधार, शिक्षकको क्षमता, व्यवस्थापन, र सिकाइ वातावरण समग्र रूपमा सुधार नगरेसम्म नुवाकोटले लक्ष्यअनुसारको प्रगति गर्न सक्दैन।

यसैबीच , १३/१४ वर्ष बितिसक्दा पनि पासाङ ल्हामु राजमार्ग पूरा हुन नसक्नु नुवाकोटको अर्को गम्भीर समस्या बनेको छ। ककनी आसपासका इस्टोबेरी, आलु, तरकारी तथा स्थानीय कृषि उत्पादन बजारसम्म पु¥याउन कठिन भइरहेको छ। कृषि व्यवसाय नै धराशायी बन्दै जाँदा ग्रामीण युवाहरू वैदेशिक रोजगारीतर्फ धकेलिँदै छन्। अधुरो सडकले पर्यटन, आपूर्ति, यातायात र आपतकालीन सेवामा समेत अवरोध सिर्जना गरेको स्थानीयको गुनासो छ।

विगतमा मन्त्री र सांसद बनेका नेताहरूमाथि अहिले जनताको आक्रोश खुलेर व्यक्त हुन थालेको छ। स्थानीयवासी प्रश्न गर्छन्— “हामीले दशकौँ भोट दियौँ, तर विकास किन आएन? कसले रोक्यो हाम्रो समृद्धिको बाटो? जिम्मा कसले लिने?” ड्वाचे खाने पानीको योजना देखाइ विभिन्न राजनीतिक दलका नेता हरुले बिगत तीन दशक देखि अहिलेसम्म भोट बैंकको रूपमा मात्रै प्रयोग गर्दै आइरहेका नेताहरूको काम प्रति आगामी चुनाबी परिणामबाट मुल्य चुकाउने स्पष्ट देखिन्छ । बिशेष गरि यो योजना नुवाकोटको सुर्यगढी गा.पा.तादी गा.पा.लिखु गा.पा.बिदुर नगरपालिका सम्मको लागि हो हलसम्म पनि यो योजना सम्पन्न हुन सकिरहेको छैन राज्यको करोडौं खर्च भइसक्दा पनि अहिले सम्म काम सम्पन्न नहुनु आफैमा विभिन्न शंका गर्ने ठाउँ भेटिन्छ भने पाइपहरु छेद बिछेद अवस्थामा रहेको छ ड्वाचे खानेपानी आयाेजना पञ्चायतका नेता जिसिङ् खड्का देखि गणतन्त्रका नेताहरु सम्म आईपुग्दा सम्म पनि सम्पन्न हुन नसक्दा जनताले बास्तबिक राहतको कहिले पनि महसुस गर्ने सकिरहेका छैनन् । यति सम्म कि पानिकाे अभावमा काकाकुल जस्तै भाैतारिनु परिरहरेको छ । निर्दलीय पन्चायती ब्यवस्थाका कारण काम अघि बढेन तर गणतन्त्र सम्म आइपुग्दा पनि आम नागरिकले पानीको प्यास मेटाउन नपाउदा आँलो घाउमा नुन छर्केको पिडा भोगिरहेको नुवाकोट लिखु ४, निवासी दिनेश लामिछाने बताउँछन् । उनी भन्छन् आखिर जुन पार्टीका नेताज्यूहरु चुनाब जितेर आएपनि मीठो र गुलियो कुरा गर्ने काममा भने माखो नमार्ने स्वभावले गर्दा अबको चुनाबमा हाम्रोभन्दा पनि राम्रो जनप्रतिनिधि जनताले छान्न पर्ने उनको सुझाव छ । नुवाकोटका अर्का लोकप्रिय सामाजिक अभियान्ता राजुराईले अब कहिलेसम्म जनता भाेटर्स बैंक भएर भाेट दिहिरहनुपर्ने हाे??? ठाडो रूपमा उनलेे कडा व्यंग्य पुराना नेताहरू माथि गरेका छन् । नुवाकोट जिल्लाको उत्तरी भेगका जनता आज भोली हरेक समय जनप्रतिनिधि र सम्बन्धित सरोकार वाला पक्षलाई बारम्बार आवाज बुलन्द गरिएका छन् कानमा तेल हालेर बसेकाहरु प्रति आफूहरू पटकपटक धोका खाएको र पटकपटक सत्तामा पुग्दा हातमा सबै थाेक डाडुपन्यू भएर पनि. काम गर्ने नसकेका रामशरण महत अर्जुन नर्सिङ प्रकाश चन्द्र लोहनी हितबहादुर तामाङ महेन्द्र पान्डे बहादुर सिंह लामा बद्री मैनाली राधिका तामाङ रमेश महत राम प्रसाद ढुंगाना लगायत नुवाकोट जिल्लाको नेता भनौदाहरुको अबको बिकल्प जनताले खोज्न पर्ने उनको तर्क छ । हरेक सरोकारवाला नेताहरूको नाम स्थानीयभित्र व्यापक आलोचनाको केन्द्रमा छ।
जनताले भोगेको पीडा, बेरोजगारी, पछौटेपन र योजनाको निरन्तर ढिलाइले अब नेतृत्वमाथि गम्भीर अविश्वास जन्मिएको छ।

नुवाकोटका नागरिक अब चेतनशील हुँदै खुलेर बोल्न थालेका छन्— पानी, बाटो, शिक्षा, रोजगारी— यी चार आधारमा जनता अब दृढताको साथ अघि बढिरहेका छन्। विकासका नाममा दिइएका आश्वासन अब भाषणमा होइन, जीवनस्तरमा परिवर्तन ल्याउने वास्तविक प्रतिफलमा नापिने भएको छ। नुवाकोट उठ्दैछ, प्रश्न कडा हुँदैछ र जनताको आवाज अब थामिन नसक्ने अवस्थामा पुगेको छ। नेताहरूले यो आवाज सुन्छन् कि फेरि अर्को दशक पनि अधूरा सपना र कागजी योजनामै बित्छ— यही प्रश्न अहिले नुवाकोटको भविष्यमा टलमलिरहेको छ।












