
विकासको नाममा व्यापार, नेतृत्वको नाममा दलाली — नुवाकोटमा नयाँ नेतृत्वको चर्चा तीव्र


नुवाकोट ।
नुवाकोट आज एउटा निर्णायक मोडमा उभिएको छ। यो मोड भाषण, उद्घाटन वा झूटा वाचाका कारण बनेको होइन— यो मोड जनताको थकान, अपमान र आक्रोशले बनेको हो। दशकौँदेखि “भोलि विकास हुन्छ” भन्ने कथाले यहाँका युवालाई विदेश पलायन गर्न बाध्य बनायो, गाउँ उजाडिँदै गयो, खेत खाली हुँदै गए, सपनाहरू अधुरै रहयो। प्रश्न धेरै छन्, तर उत्तर खोज्ने आँट नेतृत्वमा कहिल्यै देखिएन। यही असन्तोष र पीडाको गर्भबाट आज नुवाकोटमा गम्भीर बहस उठेको छ— अब विकास जादुगरले होइन, संघर्ष बुझ्ने, पसिना चाखेको र उत्तरदायित्व बोध गरेको नेतृत्वले मात्रै सम्भव छ।
दुप्चेश्वर क्षेत्र नुवाकोटको सम्भावनाको प्रत्यक्ष उदाहरण हो। दुप्चेश्वर, घ्याङफेदी, सिसिपु तालु, हेदि हाइक्याम, सुर्यकुण्ड हुँदै गोसाइँकुण्ड जोड्ने छोटो पदमार्ग आज पनि नक्सामा मात्र सीमित छ। यदि नेतृत्वले इच्छाशक्ति देखाएको भए सिसिपुसम्म सुमो चल्थ्यो, हिउँद–बर्खा दुवै मौसममा तीर्थयात्री र पर्यटक आउँथे, स्थानीयले होटल, चिया पसल, गाइड र यातायातबाट रोजगारी पाउँथे। तर नेतृत्वले सजिलो बाटो रोज्यो; योजना होइन, भाषण रोज्यो। यहीँबाट विकासको नाममा व्यापार सुरु भयो।
नुवाकोटका नदी, खोला र पहाड आफैँ साक्षी छन्। त्रिशूली नदीका जलविद्युत् आयोजना, तादी खोला र खनिजजन्य खानी— यी सबैले नुवाकोटलाई समृद्ध बनाउनु पर्ने थियो। तर आज प्रश्न उठ्छ— यी आयोजनाबाट आएको समाजिक उत्तरदायित्व रकमले नुवाकोटलाई के दियो ? विद्यालय उस्तै छन्, स्वास्थ्य सेवा कमजोर छ, युवाका लागि रोजगारी छैन। खोज्दा देखिन्छ— सामाजिक उत्तरदायित्व जनताको अधिकार होइन, सीमित पहुँचवालाको कमिसन बनेको छ। प्रतिवेदन चम्किला छन्, तर गाउँ अँध्यारोमै छ। यो विकास होइन, विकासको नाममा गरिएको शोषण हो।
यही शोषणले नुवाकोटको अर्को रोग जन्मायो— युवाको चरित्र पतन। मेहनतभन्दा सजिलो बाटो, गाउँभन्दा शहर, संघर्षभन्दा चिनजान, अवसर सधैँ नेताको वरिपरि— यही भ्रम फैलियो। गरिब हुँदा श्रमजीवीको गीत, सम्पन्न भएपछि नवधनाढ्यको जीवनशैली नक्कल— यही संस्कारले नुवाकोटलाई कमजोर बनायो। पढ्न र सिक्न नपर्ने, तर अरूलाई सिकाउने प्रवृत्ति बढ्यो। यही भीडभित्र नेता पनि मिसिए, परिवर्तन केवल भाषणमा सीमित रह्यो।
शिक्षा र मानव संसाधनको अवस्था झन् लज्जास्पद छ। नुवाकोटजस्तो जिल्ला आजसम्म मेडिकल कलेज, इन्जिनियरिङ कलेज वा दक्ष जनशक्ति उत्पादन गर्ने उच्चस्तरीय संस्था नहुनु संयोग होइन। यो नेतृत्वको दृष्टिकोण, प्राथमिकता र इमानको अभाव हो। तत्कालीन सुविधा र सानो राजनीतिक लाभका लागि दीर्घकालीन रणनीतिक लगानी सधैँ गुमाइयो। परिणामस्वरूप आज युवाहरू विदेशमा पसिना बगाइरहेका छन्, गाउँ बुढाबुढीको भरमा बाँकी छ।
देविघाटको ऐतिहासिक–धार्मिक महत्व, पृथ्वीनारायण शाहको राष्ट्रिय योगदान र नुवाकोटको सांस्कृतिक पहिचानलाई जोडेर यहाँ धार्मिक पर्यटन केन्द्र बनाउन सकिन्थ्यो। यसले स्थानीय अर्थतन्त्र, रोजगारी र पहिचान सबै बलियो बनाउँथ्यो। तर योजना बनाउनेहरू आफैँ इतिहासबाट टाढा रहे। “मैले नै गरेको हो” भन्ने हतारो देखाउनेहरू दशकौँसम्म योजना थन्क्याएर राख्ने, जिम्मेवारीबाट पन्छिने र अवसरलाई व्यक्तिगत स्वार्थमा सीमित गर्ने मुख्य दोषी हुन्।
यही पृष्ठभूमिमा आज नुवाकोटको राजनीति केही नाम वरिपरि केन्द्रित छ— रामेश्वर भण्डारी, राजु राई, चन्द्र पौडेल र पुरुष दिनेश लामिछाने। यी सबै पुरानो राजनीतिक संरचनाका प्रतिनिधि हुन्। तर यी नामका बीच एक नाम फरक रूपमा उच्चारण हुन थालेको छ— राजन गौतम ‘नकुल’।
नकुललाई लिएर बहस किन फरक छ ? कारण सरल छ। उनी जादु होइन, पसिना बोल्छन्। उनी सत्ता होइन, उत्तरदायित्वको कुरा गर्छन्। उनी भाषणभन्दा जनजीवनमा देखिन्छन्। दुप्चेश्वरदेखि देविघाटसम्म, विकासलाई घोषणामा होइन, सम्भावनामा रूपान्तरण गर्ने दृष्टि उनको पहिचान बनेको छ। यही कारण आज नुवाकोटको चुनाव व्यक्ति चयनको मात्र विषय रहेन— यो पुरानो दलाली–केन्द्रित राजनीतिमाथि जनताको फैसला बन्न पुगेको छ।
आउँदो फागुन २१ गतेको निर्वाचनलाई लिएर ‘एकै गोलिले दुई सिकार’ हुने चर्चा पनि यही सन्दर्भसँग जोडिन्छ। यो चुनाव जित–हारको साधारण प्रतिस्पर्धा होइन। यो पुरानो सोच र नयाँ दृष्टिको टक्कर हो। जनताले धेरैपटक मौका दिए, धेरैपटक परीक्षा लिए— तर फेल पनि उहीहरू भए। अझ पीडादायी कुरा त के छ भने, नयाँ पुस्तालाई परीक्षा दिनै नदिई सुरुमा नै फेलको ट्याग टाँसेर देश बाहिर धकेलियो।
आज देशमा रोजगारी सिर्जना गर्नुपर्ने समयमा आरोप–प्रत्यारोपमै अल्झिने, युवालाई विदेशिन बाध्य पार्ने काम पुरानै दल र दशकौँ सत्तामा बसेकाहरूको असफलताको प्रत्यक्ष परिणाम हो। अनि अहिले फेरि ‘के–के गर्छु’ भनेर जनतामाझ रोइलो गरेर हिँड्नु कसको लागि ? जनता अब थाकेका छन्— उनीहरू सचेत भएका छन्।
अब प्रश्न स्पष्ट छ— नुवाकोट फेरि भ्रम, वाचा र रंगीन सपनामा अल्झिन्छ कि साहसिक, इमानदार र परिणाममुखी नेतृत्व रोज्छ ? उजाडिँदो गाउँ, खाली खेत र रित्तिँदो भविष्य हेरेर अब चुप लाग्ने समय सकिएको छ।
नुवाकोट आज इतिहासको कगारमा उभिएको छ।
विकास जादु होइन— निर्णय हो।
अब त्यो निर्णय जनताले लिन्छन्, र त्यसको परिणाम पुरानो राजनीतिले भोग्नेछ।











