
धोका दिने नेतृत्व अस्वीकार्य : राजन गौतम (नकुल)


नुवाकोट । नुवाकोटको विकासका नाममा पटक–पटक जनविश्वासको परीक्षा फेल भएका नेतृत्व अब स्वीकार्य नहुने भन्दै युवा नेता तथा सामाजिक अभियन्ता राजन गौतम (नकुल) ले कडा आपत्ति जनाएका छन्। उनले विगतमा जनताले बारम्बार भरोसा दिँदा पनि नतिजा सधैँ धोका बनेको आरोप लगाउँदै अब फेरि झुक्न नहुने स्पष्ट पारेका छन्।
गौतमले टिप्पणी गर्दै भने, “नुवाकोटलाई भाषणले होइन, कामले बदल्न सकिन्छ। माटो चिन्ने, माटो बुझ्ने र जिल्लालाई साँचो अर्थमा माया गर्ने सक्षम नेतृत्व आजको अपरिहार्य आवश्यकता हो।” उनका अनुसार आज जिल्लामा फैलिएको निराशालाई आशामा बदल्न इमानदार, काम गरेर देखाउने र जनतासँगै उभिने नेतृत्वबाहेक विकल्प छैन।
उनले विगतका नेतृत्वमाथि आरोप लगाउँदै विकासलाई नारामा सीमित राखिएको, योजना कागजमै थन्किएको र जवाफदेहिता हराउँदै गएको बताए। “बोल्नेले होइन, गर्नेले; वाचा बाँड्नेले होइन, परिणाम दिनेले जनताको विश्वास जित्छ,” भन्दै उनले अघिल्ला नेतृत्वले यो जिम्मेवारी पूरा गर्न नसकेको जिकिर गरे।
गौतमले यस विषयमा सरोकारवालाको ध्यानाकर्षण गराउँदै अब परिवर्तन कुनै चाहना मात्र नभई समयले उठाएको अनिवार्य माग भएको जोड दिएका छन्। उनले चेतावनीस्वरूप भने, “यदि फेरि उही असफल शैली दोहोरियो भने जनताले कडा हिसाब–किताब गर्नेछन्।”
उनका अनुसार नुवाकोटको समृद्धिका लागि स्पष्ट दृष्टि, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काम आवश्यक छ। जनतासँग प्रत्यक्ष संवाद, स्थानीय आवश्यकतामा आधारित योजना र समयमै कार्यान्वयन नै अबको मापदण्ड हुनुपर्ने उनले स्पष्ट पारे।











