रेडिमेड सोच र घमण्डी जिम्मेवारी प्रति गौतमको कडा आक्रोश

0
35

काठमाडौँ — युवा नेता तथा सामाजिक अभियान्ता राजन गौतम (नकुल) ले समाजमा मौलाउँदै गएको “रेडिमेड सोच” र जिम्मेवारीप्रतिको विकृत प्रवृत्तिप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आजको समाज आफैं सोच्न, श्रम गर्न र जिम्मेवारी लिनभन्दा पनि अरूले तयार पारिदिएको समाधान खोज्ने दिशातर्फ उन्मुख भएको गुनासो पोखेका छन्।

उनका अनुसार, सबै कुरा सजिलै पाउनुपर्छ, अरूले गरिदिनुपर्छ भन्ने मानसिकताले व्यक्ति मात्र होइन, संस्था र समग्र समाजलाई कमजोर बनाइरहेको छ। “हामी रेडिमेड सोचको जमानामा बाँचिरहेका छौँ,” भन्दै उनले जिम्मेवारीबाट पन्छिने तर अधिकार खोज्ने प्रवृत्ति हाबी हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

जिम्मेवारी पाउनेबित्तिकै केही व्यक्तिमा देखिने ‘सबै म नै जान्छु’ भन्ने घमण्डप्रति उनी आक्रोशित हुँदै प्रस्ट पारेका छन्। यस्तो प्रवृत्तिले नेतृत्वलाई सहकार्यबाट टाढा लैजाने र निर्णय प्रक्रियालाई एकल तथा अहंकारी बनाउने उनको भनाइ छ। उनले यस्तो सोच समाधानको बाटो नभई असफलताको सूत्र भएको बताएका छन्।

युवा नेता नकुलले जिम्मेवारीलाई शक्ति प्रदर्शन वा व्यक्तिगत प्रतिष्ठासँग जोडेर बुझ्नु खतरनाक रहेको उल्लेख गरेका छन्। “जिम्मेवारी भनेको घमण्ड होइन,” भन्दै उनले यसलाई साझा समझ, सामूहिक श्रम र उत्तरदायित्वको अभ्यासका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, जिम्मेवारी वहन गर्ने व्यक्ति मात्र होइन, त्यसमा सहभागी सबैले जवाफदेही हुने संस्कार विकास हुनु आवश्यक छ।

उनले सहकार्य, पारदर्शिता र संवादबिनाको जिम्मेवारी दीगो नहुने स्पष्ट पारेका छन्। समाज परिवर्तन एकल प्रयासले होइन, सामूहिक चेतना र साझा प्रयत्नबाट मात्र सम्भव हुने उनको धारणा छ। रेडिमेड सोच त्यागेर सक्रिय सहभागिता, आलोचनात्मक सोच र उत्तरदायित्वपूर्ण व्यवहार अंगाल्न सके मात्र समाज सही दिशामा अघि बढ्ने उनले बताएका छन्,   युवा पुस्तालाई लक्षित गर्दै राजन गौतम नकुलले सजिलो बाटो होइन, सही बाटो रोज्न आग्रह गरेका छन्। जिम्मेवारीलाई बोझ होइन, परिवर्तनको अवसरका रूपमा लिन सके मात्र समावेशी र उत्तरदायी समाज निर्माण सम्भव हुने उनको निष्कर्ष छ।

LEAVE A REPLY