
रणनीति कमजोर पर्दा स्वतन्त्र पार्टी दबाबमा, कांग्रेस अघि बढ्दै


रणनीति कमजोर पर्दा स्वतन्त्र पार्टी दबाबमा, कांग्रेस अघि बढ्दै
विशेष संवाददाता रसुवा, १४ फागुन (बिहीबार)
यही फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा हिमाली जिल्ला रसुवाको चुनावी माहोल उत्कर्षमा पुगेको छ। विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले मतदाता रिझाउन घरदैलो र चुनावी सभालाई तीव्र पारेसँगै जिल्लाको प्रतिस्पर्धात्मक स्वरूपमा समेत व्यापक फेरबदल आएको छ।
पछिल्लो राजनीतिक विकासक्रम अनुसार रसुवामा मुख्यतया नेपाली कांग्रेस, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच रोचक भिडन्त हुने देखिएको छ।
कांग्रेसको समीकरण बलियो, आचार्यको चर्चा
नेपाली कांग्रेसका उम्मेदवार एवं निवर्तमान सांसद मोहन आचार्य पछिल्लो समय निकै बलियो अवस्थामा देखिएका छन्। विशेषगरी नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्व संविधानसभा सदस्य जनार्दन ढकाल कांग्रेसमा प्रवेश गरेपछि रसुवाको चुनावी गणित कांग्रेसको पक्षमा सकारात्मक बनेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ। ढकालको आगमनले कांग्रेसको संगठनमा थप ऊर्जा थपेको र यसले आचार्यलाई अग्रता दिलाउन मद्दत पुग्ने देखिएको छ।
यता, नेकपाका उम्मेदवार माधव लामिछाने ‘समीर’ को बढ्दो सक्रियताले वामपन्थी मतदातामाझ उत्साह जगाएको छ। समीरले जिल्लाको सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई मुख्य चुनावी एजेन्डा बनाएका छन्। स्थानीय स्तरमा उनको नियमित भेटघाट र विकासप्रतिको प्रतिबद्धताका कारण वामपन्थी पक्षको चुनावी माहोल दिनप्रतिदिन बढ्दो क्रममा छ।
सुरुवाती समयमा चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वसन्त भट्ट भने पछिल्लो समय केही रक्षात्मक देखिएका छन्। चुनावी अभियानले अपेक्षित गति लिन नसक्नु र पार्टीभित्र रणनीतिक छलफलको अभाव हुनुले उनी केही सुस्त देखिएको स्रोतले दाबी गरेको छ। आन्तरिक समन्वय नमिल्दा भट्टको अभियान अन्य उम्मेदवारको तुलनामा प्रभावकारी हुन नसकेको टिप्पणी हुन थालेको छ।
जिल्लाका विभिन्न स्थानमा हुने राजनीतिक गतिविधि र दलगत समीकरणका कारण रसुवाको प्रतिस्पर्धा अनुमान गरेभन्दा रोचक बन्दै गएको छ। फागुन २१ को निर्वाचनले रसुवाको नेतृत्व कसको हातमा सुम्पिने हो भन्ने विषयमा आम मतदातामा भने व्यग्र प्रतीक्षा देखिन्छ।











