नयाँ’ को पुरानै धन्दा: रास्वपाको झण्डा अंकित गाडीमा मदिरा र चामलको ओसारपसार

0
18

​सुशासनको नारा कि रक्सी र चामलको व्यापार? सल्यानमा रास्वपाको झण्डा अंकित गाडीमा रक्सीको ओइरो!
​सल्यान, १८ फागुन २०८२ | ‘पुरानोलाई फाल्ने’ र ‘नयाँ युग ल्याउने’ भन्दै सुशासनको दुहाइ दिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सक्कली अनुहार सल्यानमा छताछुल्ल भएको छ।

सोमबार बिहान करिब पौने १० बजे सल्यानको बनगाड–कुपिण्डे नगरपालिका–१ स्थित सल्लीबजारमा रास्वपाको झण्डा फहराउँदै हिँडेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपभित्र ठूलो परिमाणमा मदिरा र खाद्यान्न फेला परेपछि ‘नयाँ’ भनिएको पार्टीको चुनावी शैलीमाथि गम्भीर प्रश्न उठेको छ। विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक देवराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उक्त जिप खानतलासी गर्दा २१० बोतल स्थानीय मदिरा, २ कार्टुन बियर, २ बोरा चामल र ३ कार्टुन खाने तेल बरामद गरेको हो।

​निर्वाचनको मुखमा मतदातालाई प्रलोभनमा पार्नका लागि यी सामग्रीहरू बनगाड कुपिन्डे–५ खैरागार तर्फ लैजान लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिद्धकुमाख गाउँपालिका–४ का २४ वर्षीय जिप चालक चन्द्रप्रकाश बुढाथोकी र बनगाड कुपिन्डे–१ का ३७ वर्षीय मोहन बिसीलाई नियन्त्रणमा लिएको छ। चालक बुढाथोकीले उक्त सामान बिसीको भएको र उनकै आग्रहमा लैजान लागेको बयान दिए पनि पार्टीको झण्डा प्रयोग भएको गाडीमा यसरी वर्जित सामान ओसारपसार हुनुले यसमा रास्वपाको स्थानीय नेतृत्वको प्रत्यक्ष संलग्नता रहेको आशंका बलियो बनेको छ।

​जिल्ला प्रहरी कार्यालय सल्यानले यसलाई निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदातालाई प्रभावित पार्न खोजिएको ‘घिनौनो हर्कत’ को रूपमा लिएको छ। प्रहरी निरीक्षक भट्टराईले “चुनावमा बाँड्न लागेको आशंकामा” नै ती सामान र सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएका छन्। चुनावमा ‘घन्टी’ बजाएर परिवर्तनको कुरा गर्ने रास्वपाले के सल्यानका जनतालाई दुई बोतल रक्सी र एक बोरा चामलमा किन्न खोजेको हो? नयाँ भनिएको पार्टीको यो पुरानै र अराजनीतिक शैलीले अहिले जिल्लाभरि आक्रोश र चर्चा पैदा गरेको छ।

LEAVE A REPLY