
मध्यपूर्वको तनावप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण: नेपालीहरूको सुरक्षा र तत्काल उद्धारको तयारी गर्न सरकारसँग माग


मध्यपूर्वको तनावप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण: नेपालीहरूको सुरक्षा र तत्काल उद्धारको तयारी गर्न सरकारसँग माग
काठमाडौँ | १६ फागुन, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मध्यपूर्वमा विकसित भइरहेको पछिल्लो सैन्य मुठभेड र इरान केन्द्रित तनावप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाले इरान र इजरायलबीचको बढ्दो द्वन्द्वले विश्व समुदायलाई नै चिन्तित तुल्याएको उल्लेख गरेको छ।
रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालद्वारा जारी विज्ञप्तिमा इरान, इजरायल, युएई, कतार र बहराइनमा सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएको प्रति चिन्ता व्यक्त गरिएको छ। ती देशहरूमा लाखौँको संख्यामा नेपाली श्रमिकहरू कार्यरत रहेको सन्दर्भमा उनीहरूको जीवन, रोजगारी र सुरक्षालाई लिएर गम्भीर चासो उत्पन्न भएको रास्वपाले जनाएको छ।
सरकारलाई रास्वपाका आग्रहहरू:
१. उच्च सतर्कता: सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राख्न र आवश्यक परे तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न।
२. सम्पर्क संयन्त्र: आपतकालीन सम्पर्क संयन्त्रलाई प्रभावकारी बनाउन र नेपालीहरूको अवस्थाबारे नियमित रूपमा तथ्यगत जानकारी सार्वजनिक गर्न।
३. कूटनीतिक पहल: कूटनीतिक समन्वय र पूर्वतयारीमार्फत कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहनुपर्ने।
नेपाली नागरिकको सुरक्षा सरकारको सर्वोपरि दायित्व भएको स्मरण गराउँदै रास्वपाले यो संकटको घडीमा सरकारलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ।
मध्यपूर्वमा इरानी विद्यालयमा भएको आक्रमण र दुबईको बुर्ज खलिफा क्षेत्रसम्म पुगेको तनावका कारण त्यहाँ रहेका नेपाली परिवारहरूमा त्रास बढिरहेका बेला रास्वपाले सरकारको ध्यानाकर्षण गराएको हो।












