भीआईपीहरूको उपचार खर्चबापतको साढे तीन करोड रुपैयाँ एमालेद्वारा राज्यकोषमा फिर्ता

0
7

भीआईपीहरूको उपचार खर्चबापतको साढे तीन करोड रुपैयाँ एमालेद्वारा राज्यकोषमा फिर्ता
​काठमाडौँ । २०८३ जेठ ९ गते (२२ मे २०२६) :
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्ना नेताहरू तथा विभिन्न विशिष्ट व्यक्तिहरू (भीआईपी) को वैदेशिक उपचारका लागि विगतमा राज्यकोषबाट निकासा भएको करिब साढे तीन करोड रुपैयाँ सरकारलाई फिर्ता गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमविपरीत बाँडिएका उपचार खर्चबारे छानबिन तीव्र पारेपछि एमालेले आफैँ अग्रसरता लिएर उक्त रकम नेपाल राष्ट्र बैंकमा जम्मा गराएको हो।
​नेपाल राष्ट्र बैंक सम्बद्ध स्रोतका अनुसार एमालेले पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र झलनाथ खनालको वैदेशिक उपचारका नाममा विभिन्न समयमा मन्त्रिपरिषद्को ठाडो प्रस्तावबाट निकासा भएको रकम फिर्ता गरेको हो। ती नेताहरूको उपचार खर्चबापत राज्यकोषबाट भुक्तान भएको झन्डै चार करोड रुपैयाँ (करिब ३ करोड ८६ लाख रुपैयाँ) आज राष्ट्र बैंकको खातामा ‘डिपोजिट’ भएको छ।

​जनस्वास्थ्य ऐन २०७५ जारी भएपछि कानुनतः कुनै पनि व्यक्तिलाई विदेशमा गरेको उपचार खर्च राज्यले बेहोर्न नमिल्ने स्पष्ट व्यवस्था छ। तर, ऐन विपरीत र ऐन आउनुअघि पनि कार्यविधि मिचेर ठुलो रकम विशिष्टहरूको उपचारका नाममा बाँडिएको भन्दै अख्तियारमा उजुरी परेको थियो। अख्तियारले गैरकानुनी रूपमा निकासा भएको भीआईपीहरूको उपचार खर्चबारे विस्तृत अनुसन्धान थालेपछि सम्भावित कानुनी झमेला र लोकलाजबाट बच्न एमालेले यो कदम चालेको बुझिएको छ।

​एमाले स्रोतका अनुसार, ती रकमहरू भुक्तानी भएको समयमा कुनै न कुनै रूपमा एमाले सरकारमा सम्बद्ध रहेकाले पार्टीले सुशासन र कानुनी राज्यको सम्मान गर्दै रकम फिर्ता गर्ने निर्णय गरेको हो। एमालेले आफ्ना अध्यक्ष ओलीबाहेक अन्य दलमा आबद्ध रहेका पूर्वराष्ट्रपति यादव र पूर्वप्रधानमन्त्री खनालको नाममा निकासा भएको रकम समेत फिर्ता गरिदिएको छ।
​पछिल्लो समय राज्यकोषको दुरुपयोग रोक्न र भीआईपी संस्कृति अन्त्य गर्न चौतर्फी दबाब बढिरहेका बेला एमालेको यस कदमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। नागरिक समाज र सर्वसाधारणले भने एमालेको यो कार्य सकारात्मक भए पनि राज्यकोष लुकाउने वा दुरुपयोग गर्ने परिपाटी सधैँका लागि अन्त्य हुनुपर्ने माग गरेका छन्।

LEAVE A REPLY