
दाजु थला पर्दा बहिनीले हत्याइन् सम्पत्ति !


काठमाडौँ, १३ जेठ (२०८३) । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार तथा निर्माता पवन मैनाली दुई दशक लामो स्वास्थ्य समस्यासँगै अहिले चरम आर्थिक संकटमा परेका छन्। चलचित्र ‘दिदीबहिनी’ को छायाङ्कनका क्रममा भएको मोटरसाइकल दुर्घटनाका कारण कम्मरमुनिको भाग पूर्ण रूपमा निष्कृय (प्यारालाइसिस) भएपछि उनी विगत २० वर्षदेखि ओछ्यान र ह्विलचेयरको सहारामा छन्।
अभिनेता, खलनायक तथा सफल निर्माताको रूपमा पहिचान बनाएका मैनालीले नेपाली चलचित्र उद्योगका चर्चित अभिनेता निखिल उप्रेतीको डेब्यु चलचित्र ‘पिँजडा’ को निर्माण समेत गरेका थिए। लामो समयको उपचार प्रक्रियाले संचित पूँजी सकिएको र बाँकी रहेको कानूनी सम्पत्ति समेत अन्य व्यक्तिहरूबाट हिनामिना भएको मैनाली परिवारको भनाइ छ। स्थायी आर्थिक स्रोत नहुँदा अहिले उनीहरूलाई दैनिक औषधि उपचार र जीविकोपार्जनमा ठुलो समस्या परेको छ।
हालै एक सञ्चार माध्यममा अन्तरवार्ता दिँदै कलाकार मैनाली र उनकी धर्मपत्नी लक्ष्मी मैनालीले आफ्नो करोडौँको सम्पत्ति गैरकानूनी रूपमा हिनामिना गरिएको दाबी गर्दै न्याय र उपचारका लागि राज्य तथा चलचित्र सम्बद्ध संघ-संस्थासँग आर्थिक सहयोगको अपिल गरेका छन्। उक्त विवरण सार्वजनिक भएपछि देश-विदेशमा रहेका नेपालीहरू र चलचित्रकर्मीहरूले नागरिक स्तरबाट आर्थिक सहयोग अभियान समेत सुरु गरेका छन्।
लामो समयदेखि कष्टकर जीवन बिताइरहेका वरिष्ठ चलचित्रकर्मी मैनालीको उपचार र दैनिक रेखदेखका लागि चलचित्र विकास बोर्ड लगायतका सरोकारवाला निकायले ठोस कदम चाल्नुपर्ने माग उठ्न थालेको छ। मैनाली परिवारले आफ्नो हिनामिना भएको सम्पत्ति फिर्ता गराउन कानूनी सहायता र उपचार खर्चका लागि मनकारी हातहरूसँग सहयोगको याचना गरेको छ।











