पञ्चकन्या भत्ता काण्ड अझै न्यायको प्रतीक्षामा

0
20

असहाय नागरिकको सामाजिक सुरक्षा रकम गायब भएको पाँच वर्ष बित्न लाग्दा पनि पीडितले पाएनन् पूर्ण न्याय, विशेष अदालतको फैसलातर्फ नुवाकोटवासीको चासो।
नुवाकोट, १७ जेठ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मा सामाजिक सुरक्षा भत्ता वितरणका लागि राखिएको ५३ लाख १ हजार ८५६ रुपैयाँ हिनामिना भएको चर्चित प्रकरण अझै कानुनी निष्कर्षमा पुग्न सकेको छैन। राज्यले ज्येष्ठ नागरिक, एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित वर्गका लागि उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताको रकम गायब भएपछि सुरु भएको यो घटनाले स्थानीय तहको वित्तीय अनुशासन र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।
२०७७ चैत २४ गते वडा कार्यालयमा राखिएको उक्त रकम हराएको घटना सार्वजनिक भएपछि सुरुवातमा यसलाई चोरीको घटनाका रूपमा प्रस्तुत गरिएको थियो। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले सरकारी आर्थिक कार्यविधि र सुरक्षा मापदण्डको गम्भीर उल्लङ्घन भएको निष्कर्ष निकाल्दै तत्कालीन वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएसँगै उनीहरू निलम्बनमा रहेका छन्।
स्थानीयवासीहरूले सामाजिक सुरक्षाका लागि छुट्याइएको रकम हिनामिना हुनु सामान्य आर्थिक अनियमितता मात्र नभई असहाय नागरिकमाथिको अन्याय भएको बताएका छन्। “गरिब, वृद्ध र अपाङ्गता भएका नागरिकको हकको रकम गायब हुनु अत्यन्त दुःखद विषय हो,” एक स्थानीयले बताए।
घटनापछि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई पूर्ण रूपमा बैंकिङ प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था लागू गरेको जनाएको छ। तर, स्थानीयहरू भने ठूलो क्षति भइसकेपछि मात्र सुधारका कदम चालिएको भन्दै असन्तुष्ट छन्।
हाल मुद्दा विशेष अदालतमा विचाराधीन छ। दोषी ठहर हुने वा नहुने विषय अदालतको निर्णयले टुंगो लगाउने भए पनि पीडित नागरिकले आफ्नो रकम कहिले प्राप्त गर्ने भन्ने प्रश्न अझै अनुत्तरित छ। यस घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र हिनामिना भएको रकम असुलउपर गर्न स्थानीयवासीले माग गरिरहेका छन्।

LEAVE A REPLY