
सुस्तामा भारतीय एसएसबीको प्रवेश! नेपाली भूमिमा बनिरहेको तटबन्ध रोकियो


बालेनको संसद् अभिव्यक्तिपछि सुस्तामा तनाव? भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, तटबन्ध निर्माण रोक्न दबाब
काठमाडौँ, १८ जेठ ।
भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले प्नतिनिधिसभामा दिएको अभिव्यक्तिको चर्चा सेलाउन नपाउँदै नवलपरासीको सुस्तामा नयाँ तनाव देखिएको छ। स्थानीय सरोकारवालाका अनुसार भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोली नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको छ।
सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी किनारमा निर्माण भइरहेको तटबन्धमा आइतबार साँझ ४०–५० जना भारतीय सुरक्षाकर्मी पुगेको र काम तत्काल रोक्न चेतावनी दिएको स्थानीयवासीले बताएका छन्। त्यसपछि निर्माण कार्य प्रभावित भएको जनाइएको छ।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भारतीय पक्षको दबाबपछि काम रोकिएको पुष्टि गरेका छन्। उनका अनुसार कटान र डुबानको उच्च जोखिममा रहेको सुस्तालाई जोगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रुपैयाँको लागतमा तटबन्ध निर्माण भइरहेको थियो।
उपाध्यायले घटनालाई पछिल्ला राजनीतिक अभिव्यक्तिसँग समेत जोडेर हेर्नुपर्ने अवस्था देखिएको बताए। यसअघि बालेन शाहले संसद् सम्बोधनका क्रममा “भारतले मात्र होइन, नेपालले पनि कतिपय स्थानमा भारतको सीमा मिचेको हुन सक्छ” भन्ने आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक बहस सिर्जना गरेको थियो।
सुस्ता क्षेत्र लामो समयदेखि नेपाल–भारत सीमा विवादको केन्द्र बन्दै आएको छ। नारायणी नदीको धार परिवर्तनसँगै सीमा निर्धारणको विषय जटिल बन्दै गएको छ। यस्ता संवेदनशील अवस्थामा नेपाली भूमिमा प्रवेश गरी विकास निर्माणको काम रोक्न खोजिएको आरोपले थप गम्भीर प्रश्न खडा गरेको छ।
घटनाबारे नेपाल सरकार, सशस्त्र प्रहरी बल, नेपाल तथा सम्बन्धित निकायले औपचारिक धारणा सार्वजनिक गर्न बाँकी छ। स्थानीयवासी भने नेपाली भूमिमा भइरहेको संरचना निर्माणमा विदेशी हस्तक्षेप अस्वीकार्य भएको बताउँदै तत्काल कूटनीतिक पहल गर्न माग गरिरहेका छन्।











