आज गाइजात्रा पर्व देश भर दिवंगत आफन्तको सम्झना गरि मनाइयो ।

आज गाईजात्रा पर्व विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ।  हरेक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने यस परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ हाम्रो देशका मुख्यमुख्य पर्वहरुमा जात्राले महत्वपूर्ण ठाउँ ओगटेको छ । त्यस  मध्य  गाईजात्रा पनि एक हो  ।

 गाईजात्रा नेवार समुदायको सत्रौँ शताब्दीदेख चलिआएको प्रथा हो । यसलाई गाईहरुको एवं हाँसो र ठट्टाको पर्वका रुपमा पनि चिनिन्छ । यो पर्व विशेष गरी काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय नेवारहरुले मनाउने गर्दछन् । गाईजात्रा नेवार समुदायको ठुलो पर्व हो, जसमा पितृहरुको सम्झनामा गाई र जोगीका साथ सडकमा जुलुस निकालेर प्रदर्शन गर्ने गरिन्छ ।

आफ्नो घरमा कुनै आफन्तको मृत्यु भएको एक वर्षको अवधिमा रङ्गी विरङ्गी र अनौठा पोशाक लगाएर जात्रा निकाल्ने गरिन्छ । यो पर्व नेपालमा विभिन्न किसिमले मनाइन्छ । मिलीमिली चोलो,जामा, पेरुङ्गे टोपी,  सेतो पटुका धाराण गरेका मानिसहरु साथमा बाजागाजा घन्काउँदै टोल सहर घुम्छन् ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन रहेको छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक  छ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

विकृतिविरुद्ध हास्यव्यङ्ग्यका  गाईजात्रा कार्यक्रम ।

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्यको   रुपमा  प्रकाशित गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेकासहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

LEAVE A REPLY