
बोक्सी त ऐनले नमान्ने, तर मिडियाले बनाइदिने?” — ज्योति मगरको तीखो प्रतिक्रिया।


१७जेठ काठमाडौं – हालै एक राष्ट्रिय टेलिभिजनमार्फत प्रसारित कार्यक्रममा अभिनेत्रीमाथि “काला जादु गरेर व्यापारीको घर तहस-नहस बनाइदिएको” भन्ने दाबी गरिएको छ। सार्वजनिक रूपमा प्रसारित उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा कडा प्रतिक्रिया व्यक्त भइरहेको छ।
सञ्चार माध्यममार्फत व्यक्त यस्ता आरोपले महिला विरोधी मानसिकता झल्काउँछ र कानुनी दृष्टिकोणले पनि आपत्तिजनक ठहरिन्छ। नेपालको संविधान र प्रचलित कानुनले बोक्सी, काला जादु जस्ता अन्धविश्वासलाई प्रश्रय दिने र त्यसको नाममा कसैको अपमान वा दमन गर्ने कार्यलाई अपराध मानेको छ।
“बोक्सी आरोप (कसूर र सजाय) ऐन, २०७२” ले यसप्रकारका अन्धविश्वास फैलाउने, आरोप लगाउने वा मानसिक, सामाजिक वा शारीरिक यातना दिने कार्यलाई दण्डनीय बनाएको छ।
विशेषतः महिलामाथि लक्षित यस्ता कथित आरोपहरू सामाजिक संरचनाभित्रको गहिरो लैङ्गिक भेदभाव झल्काउने बताउँदै सामाजिक अभियन्ताहरूले मिडिया संस्थालाई ‘उत्तरदायी पत्रकारिता’ अपनाउन आग्रह गरेका छन्। “पुरुष सफल हुँदा त्यो उनको प्रतिभा ठहर्छ, तर असफल हुँदा महिलालाई दोषी देखाउने प्रवृत्ति गलत हो,” एक सामाजिक विश्लेषकले भने।
आरोप लगाइएकी अभिनेत्री कानुनी रूपमा अविवाहित छिन् र कुनै पनि व्यक्तिसँग आपसी सहमतिमा सम्बन्ध बनाउने उनको स्वतन्त्रता हो भन्ने मान्यता कानुनी दृष्टिले स्पष्ट छ। उनीमाथि सार्वजनिक रूपमा चरित्र हत्या गर्न खोज्नु निजता र प्रतिष्ठामाथिको गम्भीर उल्लंघन हो।
सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका छन्, “बोको काट्नासाथ महिला ‘बोक्सी’ बन्ने अनि त्यही आरोप लगाउने व्यापारीको नै घरबार बिग्रने क्रमले संकेत गर्छ — दोषी खोज्नु छ भने ऐनाको हेराइ बदल्नुपर्छ।”
यस घटनाले सञ्चार जगतमा उठ्नुपर्ने जवाफदेहिता, महिला अधिकार, अन्धविश्वास र कानुनी चेतनाको पुनर्विचार गर्नुपर्ने आवश्यकता देखाएको छ।