गगन थापाको कटाक्ष: ‘गणतन्त्रको अभ्यास भनिन्छ, तर अनुहारहरू उस्तै’।

0
27

गगन थापाको कटाक्ष: ‘गणतन्त्रको अभ्यास भनिन्छ, तर अनुहारहरू उस्तै’

काठमाडौं, जेठ १८ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभर फैलिएका असन्तुष्टि र आन्दोलनहरूको जड मुलुकका ठूला राजनीतिक दलका शीर्ष नेताहरूको निरन्तर नेतृत्वकै कारण रहेको दाबी गरेका छन्। ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको लोकतान्त्रिक प्रणालीमा दीर्घकालीन अनुहारहरूको कब्जा मुख्य बाधा भएको बताए।

“हामीले गणतान्त्रिक संस्कृतिको कुरा गर्छौं, तर हाम्रो पार्टी संरचनाभित्र त्यो अभ्यास पाइँदैन,” थापाले भने, “समाजले अस्वीकार गरिसकेको नेतृत्वलाई निरन्तर एकै भूमिकामा देखिरहँदा असन्तुष्टि बढ्नु स्वाभाविक हो।”

उनले ठूला पार्टीका शीर्ष नेताहरूको लामो समयदेखिको निरन्तरता नै देशको लोकतान्त्रिक अभ्यासमा अवरोध बनिरहेको उल्लेख गरे। “उहाँहरूलाई म सम्मान गर्छु, तर आजैको दिनबाट ‘अब विश्राम लिन्छौं’ भनेर उहाँहरूले घोषणा गर्नुभयो भने, आज बेलुकाबाटै आन्दोलनहरू सेलाउँछन्। भोलिबाट मानिसहरू घर फर्कन्छन्,” उनले प्रस्ट पारे।

थापाले यद्यपि नेतृत्व परिवर्तन मात्रैले सबै समस्या समाधान हुने भने नहुने बताए। “समस्या धेरै छन्, तर नयाँ नेतृत्वले ती समस्यालाई बुझ्ने र समाधान गर्ने कोशिस गर्न सक्छ,” उनले थपे।

उनका अनुसार, राजनीतिमा नयाँ पुस्ताले स्थान पाउनु लोकतन्त्रको मर्म हो र त्यसलाई सुनिश्चित नगर्ने हो भने असन्तुष्टि झन चुलिन सक्छ। कार्यक्रममा उनले पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास, जवाफदेहिता र नेतृत्वको समयसीमा सुनिश्चित गर्न आग्रहसमेत गरे।

LEAVE A REPLY